काठमाडौं: राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविंस)ले गीतको भिडियोमा देशको झण्डा जलाउनेलाई कारवाही गर्न माग गरेको छ।
सोमवार (हिजो) मंगोल होप अफिसियल नामक युट्युव च्यालनबाट ‘देशद्रोही’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा दुई युवा र युवतीले नेपाल राष्ट्रको प्रतिक झण्डा जलाइरहेको दृश्य छ। झण्डा जलाइएको ठाउँ श्री विष्णु आधारभूत विद्यालय बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनी मकवानपुर रहेको छ।
राष्ट्रियताको प्रतीक नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा विद्वेष फैलाउने खालको ‘बाहुन क्षेत्री चोर हुन्’ भन्ने जस्ता शब्द प्रयोग गरिएकोमा आपत्ति जनाउँदै राप्रविंसले कारवाहीको माग गरेको हो।
राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको उल्लेख गर्दै महासचिव जनक फडेराद्वारा हस्ताक्षरित राप्रविंसको विज्ञप्तिमा उक्त राष्ट्रद्रोह जस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न माग गरिएको छ।
यस्ता गलत कार्यमा संलग्नलाई कारबाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी पनि दिइएको छ। कानूनमा झण्डा जलाउनेलाई ३ वर्ष जेल सजायँ र ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
गीतको भिडियोमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, कांग्रेसका संस्थापक एवं जननायक वीपी कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवाको पुत्ला जलाएको दृश्य पनि छ।
गीतका शब्द पनि आक्रोशपूर्ण छन्। आदिवासीका अधिकार खोस्नेदेखि पछाडि पार्नेसम्म सबै दोष बाहुन क्षेत्रीलाई लगाइएको छ।
