काठमाडौः एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
एक दिनअघि 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। 'देशद्रोही' बोलको भिडियो हालेको थियो। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो। भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।
कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै कारवाही गर्ने व्यवस्था रहेको छ। 'यो गलत हो। हामीले प्रहरी परिचालन गरिसके छौं। चाँडै पक्राउ पर्छन्,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने।
गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ। भिडियो मकवानपुर सल्लेनी वडा नम्वर ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ। यो समाचार तयार पार्दासम्म १ लाख ७६ हजार मानिसले युट्युबमा हेरिसकेका छन्। प्रहरी प्रधान कार्यालयले मकवानपुर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको छ।
'भिडियो मकवानपुरमा देखिएकाले त्यहाँको प्रहरीलाई भनेका हौं। उहाँ अन्य जिल्लामा भएको खुले त्यहीबाट नियन्त्रणमा लिन्छौं,' एसएसपी कडायतले भने।
गत कातिकमा 'हामी यस्तै त हो नी ब्रो गीत'बाट चर्चा कमाएका गायक भिटेन पनि गीतकै कारण पक्राउ परेका थिए। महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई अश्लिल शब्द प्रयोग गरेर गीत गाएको भन्दै कारबाही गरेको थियो।
