काठमाडौं: लकडाउन खुकुलो भएपछि अभ्यास सुरु हुने आशमा रहेका खेलाडीलाई फेरि चिन्ता थपिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो। कराँते लगायतका केही खेलमा सुरु भएका अभ्याससमेत केही दिनयता रोकिएका छन्।
भदौ १ गतेबाट सुरु हुने भनिएको फुटबलको अभ्यास पनि अन्तिम चरणमा पुगेर नहुने भएको छ। क्रिकेटको पनि तत्काल अभ्यास सुरु गर्ने सुरमा क्यान छैन। अझ खेलकुद क्षेत्रमै कोभिड १९ संक्रमित भेटिन थालेपछि अभ्यासको माहोल पनि बिग्रिएको छ।
एकजना स्क्वास प्रशिक्षकलगायत पूर्वराष्ट्रिय क्रिकेटर, राष्ट्रिय टिमको फुटबलरलगायत खेलाडीमा कोरोना देखिएको छ। अझ विभागीय टोली एपीएफका खेलाडीहरुमा पनि केही दिन अघिमात्र कोरोना पुष्टि भयो। त्यस्तै नेपाल ओलम्पिक कमिटीमा समेत दुई जना कर्मचारीलाई संक्रमण पुष्टि भइसक्दा खेल पदाधिकारीहरु रिस्क लिने मुडमा पक्कै छैनन्। न यो रिस्क लिने बेला नै छ।
यता खेलाडीहरु लामोसमय लकडाउन पछि अभ्यासमा जानथाल्दा राहत महसुस गरेका थिए। अझ उनीहरुको मुख्य चिन्ता भनेको फिटनेस नै थियो। कोरोनाका कारण फेरि अभ्यास रोकिँदा चिन्ता कोरोनाकै छ। त्यसै पनि घरेलु अभ्यासमा सीमित भएका खेलाडीबीच छोटो समयमा अभ्यासमा फर्किँदा पुरानो लय गुमेको थियो।
सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चित कालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ। तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन्। केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए।
ब्याडमिन्टन, कराँते, टेबल टेनिस जस्ता खेलले स्वास्थ्य प्रोटोकललाई पूरा गर्दा अन्यहरु सुरु गर्ने सोचमा थिए। अहिले तीनै खेलका अभ्यास पुन: स्थगित हुँदा खेलाडी चिन्तित भएका छन्।
यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन्। खेल मैदानमा समूहगत हिसाबले गरिने अभ्यास जस्तो नभए पनि पनि आफूलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विष्ट बताउँछन्।
त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परीक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो। बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय सँगै खेलाडी निराश भएका छन्।
सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन्। ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन्।
पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो। परिस्थिति अनुकुल त पक्कै छैन। तर एउटा तथ्य के हो भने यो प्रतिकुल अवस्थाको ठूलो मुल्य चुकाउनेमा खेलाडी नै पर्छन्।
