PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

संक्रमणको सन्त्रासले काठमाडौं उपत्यकामा निषेधाज्ञाको सम्भावना, फेरि देखिएला लकडाउनकै स्वरुप?



पहिलोपोस्ट

संक्रमणको सन्त्रासले काठमाडौं उपत्यकामा निषेधाज्ञाको सम्भावना, फेरि देखिएला लकडाउनकै स्वरुप?

काठमाडौं : कोरोना भाइरस संक्रमितको संख्या र मृत्यु हुने दर बढेसँगै काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी हुने सम्भावना बढेको छ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको थियो।

आजैदेखि कास्कीमा निषेधाज्ञा जारी भएको छ। केही दिन यता मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गर्नेक्रम कायम नै छ। कास्की लगायतका जिल्लामा जारी भएका निषेधाज्ञा लकडाउनकै स्वरुपका छन्।

पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या दैनिक १ सयभन्दा माथि रहँदै आएको छ। यसअघि एक्टिभ केस २ सय भन्दा धेरै भएका जिल्लमा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको थियो। काठमाडौंमा अहिले ५ सय भन्दा धेरै एक्टिभ केस नै रहेकाले थप जोखिम देखिएको छ। त्यसैलाई आधार मानेर सरकारले निषेधाज्ञाका लागि बाटो खुला गराएको हो।

निषेधाज्ञा जारी भयो भने सम्भवत अति आवश्यक सेवा बाहेकका सबैखाले सेवा ठप्प हुने छ। सरकारी तथा निजी कार्यालयहरु पनि बन्द हुने सम्भावना रहन्छ। अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लाहरुमा लागू गरिएका प्रावधान हेर्ने हो भने आर्थिक गतिविधि नै ठप्प हुनेगरी लकडाउनको अर्को स्वरुप काठमाडौं उपत्यकाले बेहोर्न सक्छ।

'आवश्यकता हेरेर निषेधाज्ञा जारी गर्न सकिन्छ,' एक प्रमुख जिल्ला अधिकारीले आज बिहान पहिलोपोस्टसँग भनेका थिए, 'संक्रमण बढ्दै गयो भने आवश्यकता हेरेर सिल वा निषेधाज्ञा जारी गर्न सकिन्छ।'

आज क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक पनि बस्दैछ। बैठकमा संक्रमणको अवस्थालाई मूल्याङ्कन गरेर निषेधाज्ञाका विषयमा थप निर्णय हुनसक्ने सम्भावना पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell