काठमाडौं : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलवारदेखि लागु हुने गरी पाँच दिनको निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलवारको निर्णयअनुरुप प्रमुख जिल्ला अधिकारी महादेव पन्थले निषेधाज्ञा जारी गरेका हुन्।
मंगलवार (भदौ २)देखि भदौ ७ गते राति १२ बजेसम्मका लागि 'अत्यावश्यक सेवालाई निरन्तरता दिँदै रुपन्देही जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरिएको छ,' प्रजिअ पन्थले जारी गरेको आदेशमा उल्लेख छ।
के के गर्न पाइदैन?
खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न।
भीडभाड हने गतिविधि जस्तैः जात्रा महोत्सव संचालन गर्न।
दैनिक हुने नित्य पुजा वाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
उद्योग/व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु।
चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
शैक्षिक संस्थाहरु संचालन गर्न।
सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल,पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकूद, खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न।
फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।
उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारको ओसारपसार गर्न।
टेक अवे वाहेक होटल/रेष्टुराँ सञ्चालन गर्न।
वेलहिया नाका वाहेक गैरकानूनी रुपमा अन्य नाकाबाट मानिस ल्याउन लैजान।
निजी तथा सार्वजनिक यातायात संचालन गर्न तर मुख्य राजमार्गहरु संचालनमा रहने।

