PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

पर्सामा सिडिओ, सहायक सिडिओपछि अस्पतालका मेसुको पनि सरुवा, के कारणले धमाधम हुँदैछ सरुवा?



राधेश्याम पटेल

पर्सामा सिडिओ, सहायक सिडिओपछि अस्पतालका मेसुको पनि सरुवा, के कारणले धमाधम हुँदैछ सरुवा?

वीरगंज : पर्सामा एक साताभित्र प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारीपछि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको पनि सरुवा भएको छ।

पर्साका तत्कालिन सिडिओ विष्णुकुमार कार्की, सहायक सिडिओ ललितकुमार बस्नेतपछि नारायणी अस्पतालकाका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायको पनि सरुवा भएको हो। ‘दुई दिन पहिले मेसुको पनि सरुवा भएको जानकारी पाएका छौं,’ नारायणी अस्पतालका एक चिकित्सकले भने, ‘उनको ठाउँमा वीर हस्पिटलका फिजिसियन डाक्टर सन्जय ठाकुर काममा आउन लागेका छन्।’  

ठाकुर रौतहटको गौरका बासिन्दा हुन्।उनी एक साता अघिदेखि नै नारायणी अस्पतालमा आउन खोजेका थिए।

पर्सामा कोरोना महामारी समुदायस्तरमा फैलिएको अवस्थामा धमाधम प्रशासकदेखि नारायणी अस्तपालका प्रमुखको सरुवा हुनाले अश्चर्य रुपमा लिइएको छ।

सबै क्षेत्रमा संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरुले कोरोना महामारी नियन्त्रण्मा चुकेकोले धमाधम सरुवा भइरहेको वीरगंजमा चर्चा छ। आउने दिनमा पर्साकी एसपी गंगा पन्त पनि सरुवा हुने चर्चा वीरगंजमा चुलिएको छ। सशस्त्रका एसपी दीपेन्द्र कुँवरको सरुवा एक महिना पहिले भएको र उनको ठाउँमा एसपी राजेन्द्र खड्का आइसकेका छन्।

सरुवामा कसको भूमिका ?

महामारी नियन्त्रण बाहिर जाँदा आखिर कुन तत्वले अधिकारीहरुको सरुवा गराउन भूमिका निर्वाह गरिरहेको छ भन्ने सर्वसधारणले प्रश्न गर्न सुरु गरेका छन्।

पर्सा काँग्रेसका एक जिल्ला तहका नेताले धमाधम सरुवामा दुई वटा कारण हुन सक्ने आँकलन गरे।

‘एउटा कारण महामारी नियन्त्रणमा ती अधिकारीहरुले चुकेका हुनु पर्छ, अर्को तर्फ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ३ सय बेडको कोभिड अस्पताल बनाउने डिसिएमसीले गरेको सिफारिस,’ उनले भने, ‘पर्साका सिडिओ र सहायक सिडिओको सरुवामा नेशनल मेडिकल कलेजको व्यवस्थापन पक्षको हात हुन सक्छ किन भने हेल्थ केयर डिसिएमसीले सिफारिस गरेको २ दिनपछि कोभिड अस्पताल बन्यो, तर नेशनल मेडिकल कलेजलाई उच्च संयन्त्रमा सिफारिस गरेको सवालमा केन्द्र सरकार र सिसिएमसी एक सप्ताह बितिसक्दा पनि मौन छ, यसले के पुष्टि हुन्छ भने नेशनल मेडिकल कलेज कोभिड नबनोस भनी चलखेल भएकै हो।’

पर्साको सिडिओ, सहायक सिडिओ र नारायणी अस्पतालका मेसुको सरुवामा नेसनल मेडिकल कलेजको हात छ भन्ने प्रश्नमा कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी अस्विकार गर्छन्।

‘वीरगंजमा बिना आधारको नेशनल मेडिकल कलेजलाई बदनाम गराउन ममाथि निराधार आरोप लगाउँदै छन्,’ उनले भने, ‘जो राम्रो काम गर्छ, उसले जिल्ला हाँक्छ, जो गर्दैन उसलाई सरकारले आफै हेर्छ, मेरो कुनै हात छैन।’

अधिकारीहरुको सरुवा र कोभिड अस्पतालको चर्चाबीच  प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, रक्षामन्त्रीलाई भेट्न वीरगंज–काठमाडौं धाइ राखेको चर्चा छ नी भन्ने प्रश्नमा उनले आफू अर्कै कामले काठमाडौं गरिरहेको दाबी गरे।

‘शिक्षक सेवा आयोगको म एउटा सदस्य हुँ, त्यसैको बैठकमा आफु गएर उहाँहरुसँग भेटेको हुँ, अरु केही कुरा छैन,’ उनले भने। नेशनल मेडिकल कलेज कोभिड अस्पताल बन्ने सरकारलाई उचित नलागेर निर्णयमा ढिलाई भएको हुन सक्ने उनको विश्लेषण छ।

‘यहाँ पर्सा,बारा,रौतहट,सर्लाहीका गरी ४ जिल्लाका ९० प्रतिशत नन-कोभिडका बिरामी उपचार लिइरहेका छन्। १० प्रतिशतमात्र संक्रमितको उपचार हुने देखिएको छ। नेशनल मेडिकल कलेज नै कोभिड अस्पताल बन्यो भने मुटुरोगी, प्रसुति रोगी, उच्च रक्तचाप, मधुमेहलगायत अन्य आकास्मिक बिरामीको उपचार वीरगंजमा असहज बन्छ ' भन्दै उनले त्यसकारण नेशनल मेडिकल कलेजको बारेमा हाल निर्णय हुन बाँकी रहेको बताए।

अन्सारीले वीरगंजका निजि सबै अस्पतालहरुले शंकास्पद बिरामीको लागि वीरगंज पानीट्यांकीमा रहेको आशाराम हस्पिटल र बाबा होटलमा आईसोलेशन बनाएर स्वास्थयकर्मीको निगरानीमा उपचार उपलब्ध गराउन तयारी भएको पनि बताए।

यता, नारायणी अस्पतालका चिकित्सकहरु भने मेसु उपाध्यायको सरुवा उनकै इच्छामा भएको तर्क गर्छन्।

‘मेसुले नारायणी अस्पतालको तोडफोडको घटनापछि असुरक्षा महसुस गर्नु भएको थियो, बालबच्चा सबै परिवार छोडेर ५ महिनादेखि उहाँ कोरोना महामारीमा २४ घण्टा खटेर पनि गाली खानुपर्ने स्थिति छ,’ नारायणी अस्पतालका डा. उदयनारायण सिंहले भने, ‘मेसु साहेब आफै मन्त्रालयमा गएर म अब कुनै हालतमा वीरगंज जान्दिनँ भन्दै स्वास्थ्य मन्त्रालयका सचिव समक्ष असन्तुष्टि जनाएपछि सन्जय ठाकुर जीलाई पठाइएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell