PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउन रुस तयार, नोभेम्बरबाट बजारमा आउने



पहिलोपोस्ट

नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउन रुस तयार, नोभेम्बरबाट बजारमा आउने

काठमाडौं: नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले कोभिड १९ (कोरोना) को भ्याक्सिन (खोप) उपलब्ध गराउन रुस तयार रहेको बताएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग मंगलवार सिंहदरवारमा शिष्टचार भेट गर्दै राजदूत नोभिकभले भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने बताए।

रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको बताउँदै उनले नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए। 'रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्व बजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,' राजदूत नोभिकभले भने।

भेटमा अध्यक्ष तिमिल्सिनाले विश्व आक्रान्त बनाएको कोभिड १९ को भ्याक्सिनको रुसमा हालै सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको बताए। तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास पनि व्यक्त गरे।

भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा पनि कुराकानी भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।

तिमिल्सिनाले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय-समयमा हुँदै आएका भ्रमणको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

उनले दुई मुलुकको हित प्रबर्द्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको जानकारी गराए।

काठमाडौं-मस्को नियमित हवाई उडानको प्रस्ताव

भेटमा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए।

उनले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं-मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राखे। 'दुई देशको इच्छाशक्ति भयो भने साझेदारीका थुप्रै क्षेत्र छन्,' उनले भने, 'नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल बिस्तारको योजना ल्याएको छ, यसमा रसिया सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार छ।'

राजदूत नोभिकभले रसियाको रक्षा तथा परराष्ट्र मन्त्री र संसदीय नेतृत्वको नेपाल भ्रमणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell