सिमकोट : हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाका बाढीपीडितको पालमुनिको बास भएको छ। गत साउन ३१ गते गएको बाढीपहिराबाट विस्थापित भएपछि ताजाँकोट वडा नम्बर ३, ४ र ५ का बासिन्दा अहिले पालमुनि बस्दै आएका छन्।
गत साउनको अन्तिमतिर लगातार परेको अविरल वर्षाका कारण गाउँपालिकामा मात्रै तीन सय घरपरिवार विस्थापन भएको तथा दर्जनौँ घर भत्किएको ताजाँकोटका गोपाल बुढाले जानकारी दिए।
छप्रेला बजारका घर, होटेल र पसल गरी २० घरधुरी र गाउँपालिका कार्यालयसमेत पहिराको जोखिममा रहेको वडा नम्बर ४ का वडाध्यक्ष प्रशान्त धमलाले बताए। बाढीपहिराले घर भत्किएपछि अहिले त्यहाँका बासिन्दा हेलिप्याडको चौरमा पाल टाँगेर बस्दै आएका छन्।
छप्रेलामा जताततै बाढीपहिरो गएका कारण पीडितलाई बास बस्ने ठाउँको समस्या भएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले बताइन्। बाढीपहिराले त्यस क्षेत्रका खेतबारीका धान, कोदो, चिनो लगायत बालीनालीसमेत बगाएको छ।