PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

‘ऋतम्भरा’ महाकाव्य छाडेर 'नयाँ यात्रा'मा निस्किए राष्ट्रकवि घिमिरे



रासस

‘ऋतम्भरा’ महाकाव्य छाडेर 'नयाँ यात्रा'मा निस्किए राष्ट्रकवि घिमिरे

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको।’

नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन। वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलवार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो।

उनी आउँदो असोज ७ गते १०२ वर्ष पुग्ने क्रममा थिए। उनको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि लैनचौर पुगिरहेका छन्।

 राष्ट्रिकवि घिमिरेले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ सालमा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए।

कविवर घिमिरेका छोरी मञ्जु अधिकारीका अनुसार उनी उमेरगत कारणले पछिल्ला दिनमा सामान्य रुपमा अस्वस्थ्य भएका थिए। उनको जीवनको अर्को अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य प्रकाशनको तयारीमा थियो। उक्त महाकाव्यलाई उनले लगभग पूरा गरेका थिए तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभाव भएकाले प्रकाशन हुन पाएको थिएन।

छोरी अधिकारी भन्छिन्, ‘सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन्। जीवन एक यात्रा हो। बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ।’

कविवर घिमिरेका पछिल्ला समयमा ‘बुढेससम्मन् पनि ज्यून जानौँ यो जीवनीको रस प्यून जानौँ’ जस्ता भावका काव्यरस प्रकाशित भएका थिए। 

घिमिरे सय वर्ष पुग्दा मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो।

लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशंकर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका घिमिरेको जन्म शताब्दी र श्रीमती महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो।

घिमिरेकी जेठी श्रीमती गौरीको २००४ सालमा निधनपछि उनले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्। राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ। उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन्। स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन्। उनका श्रीमती, दुई छोरा र ६ छोरी रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell