'बापू सेहत के लिए, तू तो हानिकारक है ...'
यो गीत हो बलिउड फिल्म दंगलको। फिल्मको कहानी पनि रोचक छ। महावीर फोगट (आमिर खान)ले आफूले स्वर्ण पदक नजिते पनि छोरीहरुलाई देशका लागि पदक जिताउने महत्वकांक्षाका साथ 'दंगल' मा पठाउन संघर्ष गर्छन्। धेरै संघर्ष तथा आरोह अवरोहपछि उनका छोरीले पदक पनि जित्छन्।
एउटा बाबुले छोरीहरुलाई खेलाडी बनाउन कति दु: ख गरेको हुन्छ? फिल्ममा दर्शाइएको छ। छोरीलाई आफूसँगसँगै खेलाडी बनाउने अठोट लिन चुनौती कति हुन्छ पितृसत्तात्मक समाजमा? 'दंगल' को परिवेश त्यही हो।
दामोदर बुढामगरको कथा पनि मिल्दोजुल्दो छ दंगलसँग।
दामोदरकी दुई छोरी छन्, हुमी र सकुन्तला जसको जितलाई उनले आफ्नो लक्ष्य बनाए।
दंगल शैलीमा आफूलाई सागको मेडलिस्ट बनाउने श्रेय आफ्नो बुबालाई दिन्छिन् होमी।
'सुरुमा त खेलकुदमा खासै इन्ट्रेस्ट नै थिएन। स्कुल लेभलको राष्ट्रपति सिल्डहरु हुँदै प्रतियोगिताहरु जित्दै गएपछि चाहिँ चासो बढेको हो,' हुमीले भनिन्, 'पहिला त एकदमै अल्छी लाग्थ्यो। जाँगरै नलाग्ने। बाबाले कर गराइगराइ सिकाउनु हुन्थ्यो।'
दामोदर आँफै पनि खेलाडी। कराँतेबाट करियर थालेर अहिले भेट्रान अल्ट्रा रनर। उनी ट्रायथोलनका समेत खेलाडी हुन्। उनले ट्रायथोलनबाटै राष्ट्रिय खेलहरुमा सहभागिता जनाइसकेका छन्। राम्रो अवसर र प्रशिक्षण नपाउनुको पीडा भोगेका उनले आफ्ना छोरीहरुबाट सपनालाई पूरा गर्ने होडमा रहे। उमेरका हिसाबले रिटायरमेन्टको समयमा आफ्नै जोडबलले खेल्न थालेका खेलाडी हुन् उनी। जब खेल्न थाले उनलाई महसुस भयो - उमेरबाटै खेल्न थालेको भए!
आफूले जुन कुरा गुमाए त्यो छोरीहरुले हात पारुन भन्ने महत्वकांक्षा छ उनमा। त्यसैले त दुवै छोरीहरुलाई खेलकुदमा भिडाइरहे। र, आफू पनि खेलमै जुधिरहे उमेरले ४५ पार गर्दैगर्दा पनि।
'बिहान ६ बजे ट्रेनिङ सुरु हुन्छ। अहिले चाहिँ बहिनी साइकलिङका लागि सिक्न जान्छ,' होमीले भनिन्, 'म र बाबा चाहिँ रनिङमा। अनि आयो खाना बनायो। दिउँसो चाहिँ भएसम्म साइकलिङ जान्छु, एक्लै। कहिले काहीँ चाहिँ बहिनी लिएर। अनि बेलुकी ५/६ बजे फेरि रनिङ जान्छु।'
लकडाउनले गर्दा अभ्यास प्रभावित भयो। तर, दामोदर बुढामगरको इच्छा शक्ति प्रभावित भएन। स्वयम्भू नजिकै उनले आफू बस्ने घरदेखि केही माथि रहेको डाँडोमा अभ्यासस्थल बनाए र निरन्तरता दिए अभ्यासलाई।
'यहाँ सुई हान्ने, गाँजा फुक्नेहरु आएर अड्डा जमाएर बस्थे। हामीले त्यही ठाउँमा अभ्यास गर्ने स्थान बनायौं। गलत गर्यौ र?,' उनले प्रश्न गरे। उनीहरुको अभ्यास स्थल पनि अनौठो छ। जो कोही गयो भने यहाँ अभ्यास गर्ने ठाउँ हो भन्ने पत्तै पाउँदैन। खाँबा र फल्याकहरु उनले त्यही झाडीमा लुकाएर राखेका छन्, सुरक्षित गरी। आफू त्यहाँ पुगेर वार्मअप गराउँछन्। छोरीहरुलाई नयाँ कुरा सिकाउँछन्। अनि अभ्यासस्थलका लागि राखिएको खाँबोहरु निकालेर राख्छन्। अनि त्यहीँ अभ्यास सुरु हुन्छ - हुमी र सकुन्तलाको।
साइकलिङ र अल्ट्रा रेस दुई विधामा खेल्ने भएकाले बिहान बेलुका समय मिलाएर दुवै खेलको अभ्यास गर्ने गरेका छन् उनीहरुले।
दामोदर आफ्ना दुई छोरीलाई उनीहरुलाई क्षमताले भ्याएसम्म अनुकुल वातावरण बनाउन लागेको छन्।
उनको मेहेनतको फल छोरीहरुले देखाउन पनि थालिसके। सातौं र आठौं राष्ट्रिय खेलकुदमा दुवाथोलनमा स्वर्ण जितेकी उनकी जेठी छोरी हुमी बुढामगरले १३ औं दक्षिण एसियाली खेलकुदमा रजतमा चित्त बुझाइन्। त्यस्तै, कान्छी छोरी शकुन्तलले पनि दुवाथोलनमै आठौं राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी थिइन्।
हुमी दुवाथोलन बाहेक अल्ट्रा रेस पनि दौडिन्छिन्। उनी हङकङमा भएको, जापानमा भएको अल्ट्रा रेसमा प्रथम भइसकेकी छिन् भने एभरेस्ट म्यारथनमा तेस्रो।
झोला बोक्दाबोक्दै अल्ट्रा रेसमा
कसरी अल्ट्रा रेसमा आउनु भएको? एकदमै कम बोल्ने शकुन्तलाले छोटो उत्तर दिइन - 'झोला बोकेर'।
अनि यसको ब्याख्या गरिन् हुमीले। खासमा दामोदर दौडन जाँदा हुमी पहिला बुबाको झोला बोक्न जान्थिन्। त्यतिकै त्यतिकै उनी पनि दौड्न थालिन्।
त्यसपछि पालो थियो शकुन्तलाको। उनले पनि दिदी र बुबाको झोला बोकेर थुप्रै हिँडिन्। हुमीले शकुन्तलालाई जिस्काउँदै भनिन्- झोला बोक्दाबोक्दा उसलाई 'झोले' भनेर जिस्काउन थालिसकेका थिएँ।
सायद् दामोदरले छोरीहरुलाई रेसमा चासो बढोस् भनेर पो झोला बोक्न लगेका थिए कि?
यी हुन् दामोदर
प्युठानको विकट ठाउँमा जन्मिएका उनले जीवनमा धेरै उतारचडाव देखे। अभाव भोग। संघर्ष गर्न सिके। त्यसैले त अहिले छोरीहरुलाई उचित गति दिन लागि परेका छन्।
'गाउँमा पढ्ने बेलामा पनि सामान्य फेर्ने कपडा पनि हुँदैन थियो। त्यो भएर हामी कहिले गुल्मीतिर कहिले भालुबाङतिर घरबाट भागेर जान्थ्यौं,' दामोदरले विगत कोट्याए, 'वर्खे बिदा हुन्थ्यो, अर्धवार्षिक परीक्षा सकिएपछि। ४ कक्षा पढ्दादेखि नै घरबाट पर गयो अनि अनि त्यहाँ होटलमा काम गर्यो। बाटो खन्यो। राप्तिको किनारमा प्युठान जाने रोडहरु खनियो। अनि दशैमा फर्किएर जान्थ्यौं।'
उनले कराते भने सानै उमेरबाट खेल्न थालेका थिए। चाहे स्कुल जाने समयमा होस या मजदुरी गर्न जाँदा उनले कराँतेलाई निरन्तरता दिए।
'त्यो बेलामा दिउँसोभरी काम गर्ने साँझमा कराँते खेल्ने। नभए साथीभाइ बनाएर उनीहरुसँग सल्लाह गरेर बिहान ४ बजेदेखि ६ बजेसम्म कराँते खेल्थ्यौं। त्यसपछि दिउँसो गयो मजदुरी गर्यो। त्यस्तै थियो,' उनले संघर्षका क्षण सम्झिए।
तर, पढाइ अघि बढाउँदै गर्दा गाउँमा स्कुल नभएकाले आफ्नो गाउँभन्दा ६ घन्टा टाढाको ठाउँ गएर बस्न थाले, कक्षा ८ मा पढ्नलाई।
'त्यतिबेला ब्रिटिस आर्मीको लागि तालिम पनि गर्थ्यौं। अनि ८ कक्षाको पढाइ सकेपछि ब्रिटिसको लागि लड्न गएँ। तर त्यहाँ सेलेक्सनमा फालिएँ,' उनले भने, 'त्यसपछि भारतीय लाहुरे हुन पनि प्रयास गरेँ। त्यति हुँदा मेरो पढाइ डिस्टर्ब भयो। भर्तीमा पनि लाग्न सकिन।'
त्यसपछि भने सहचालकका रुपमा गाडीमा काम गर्न थाले उनी। पछि फेरि गाउँर फर्किए। गाडी लाइनमा उनको सोचेजस्तो थिएन।
'त्यसपछि गाउँमै खेती किसान गरेर बसेँ। बच्चाहरु हुर्काएँ। र, पछि फेरि पढाइतिर लागेँ,' उनले सुनाए, 'यो ५७ सालतिर थियो। ५३ सालमा एसएलसी दिनुपर्ने मान्छेले ५७ सालमा पढाइ सुरु गरेँ। तर त्यतिबेला माओवादीको विगविगी थियो। कहिले के भन्थ्यो कहिले के? ५८ सालमा एसएलसी गरेपछि दुई वर्ष फेरि त्यही गाउँमा मिल चलाएर बसेँ।'
त्यसपछि ६० सालमा काठमाडौं आएर उनी महेन्द्र रत्न क्याम्पस भर्ना भए, एजुकेसनल हेल्थ फिजिकल विषय लिएर थाले पढ्न।
'त्यतिबेला पनि ध्रुबविक्रम गुरु कहाँ गएर कराँते खेलिराखेँ। त्यसको २ वर्षपछि ब्लाकबेल्ट ल्याएँ। त्यसपछि भने कराते कम गरेँ,' उनले भने, 'फिजिकल एजुकेसनको विद्यार्थी भएकाले भलिबल, बास्केटबल, ब्याडमिन्टन सिक्नु पर्यो। भोलि त टिचर बन्ने भन्ने छ, एजुकेशन पढेको मान्छे।'
उनको जीवनको लय फेरियो जब उनले स्ववियूले आयोजना गरेको एउटा दौडमा सहाभागी भएर प्रथम भए। त्यतिबेलासम्म उनको उमेरले तेस्रो दशक टेक्नै लागेको थियो।
अझ ब्याचलर पढ्दै गर्दा कोर्षमा पनि एथलेटिक्सका पाठहरु धेरै भएकाले एथलेटिक्समा उनको चासो बढेर गयो। यसमा खेलाडी उत्पादन गर्नुपर्ने देखे उनले। त्यसैले आफ्ना छोरीहरु खेलाडी बनेको सपना बुन्न थाले।
'पठनपाठनकै क्रममा म एमएड पहिलो वर्ष पढ्ने बेलामा अन्नपुर्ण म्याराथन खेल्न गएँ, सन् २०१३ मा। त्यसबेला १०० किलोमिटर जसोजसो पार गरेँ,' आफ्नो खेल अनुभव सुनाए उनले, 'त्यसअघि सन् २०११ मा अन्नपूर्ण बेसक्याम्पमै भएको ४२ किलोमिटर दौडिइसकेको थिएँ। त्यतिबेला १० औं पोजिसनमा थिएँ। एकहप्ता त जिउ दुखेर कच्याककुचुक नै भएको थिएँ।'
तर, उनले खेल छोडेनन्। भारतको नैनतालमा भएको ४० वर्षमाथि उमेर समूहको दौडमा उनी पहिलो भए।
'गतवर्ष नै डिसेम्बरमा कुनमिङमा अल्ट्रम्याराथन ५० किमी भएको थियो। जसमा म तेस्रो भएँ,' उपलब्धि सम्झिँदै उनले भने, 'त्यस्तै पोखरामा सन् २०१८ मा भएको पञ्चासे म्याराथनमा पनि पहिलो भएको थिएँ। ब्रेटलेसमा कालापत्थरदेखि स्याङ्वोचेसम्म भएको ३१ किलोमिटरको रेसमा दोस्रो भएको थिएँ।'
त्यस्तै, काठमाडौं ट्रेलसिरिजको सुरुमा त बाबु छोरी नै च्याम्पियन भएका थिए। 'भोजपुर ट्रेल रेसमा पनि म १८ किलोमिटरमा म पुरुषतर्फ फर्स्ट र छोरी महिलातर्फ पहिलो भएका थियौं। काठमाडौं ट्रेलसिरिजमा केहीलाई छोडेर हामी नै फर्स्ट भइरहेका छौं,' उनले गम्भीर हुँदै भने।
जब छोरीहरुलाई खेलमा ल्याए...
अघि नै चर्चा भएको बलिउडको दंगल फिल्मसँग मिल्छ उनको पनि कथा। उनले आफूले नपाएको अवसर र देखेको सम्भावनामा छोरीहरुलाई सफल भएको देख्न चाहे।
'मैले समयमा इन्करेज गर्नका लागि कुनै पनि कोच या मोटिभेट गर्ने मान्छे पाइन,' उनले भने, 'मलाई पहिले त्यो अवसर मिलेको भए म सायद नेसनल, इन्टरनेसनल पनि हुन सक्थेँ कि?'
त्यसैले त छोरीहरुलाई सानैदेखि खेल क्षेत्रमा भित्र्याए उनले।
सुरुमा त उनले करबलले नै खेल्न दवाव दिए। उनको कलेजको पढाइ पनि थियो त्यतिखेर। कतिबेला त कक्षा छोडेर पनि छोरीहरुलाई तालिमका लागि खटिए। छोरी कतिबेला त भाग्थिन् खेल्न छाडेर। तर, उनी थप 'दु:ख' दिन्थे छोरीलाई खेल्नका लागि। त्यसपछि हुमीले राष्ट्रपति रनिङ सिल्ड लगायत धेरै प्रतियोगिताहरु जितिन्। क्रमश: खेल नशा बन्न थाल्यो उनका लागि।
सुरुमा मन नलागी नलागी खेलमा प्रवेश गरेको भए पनि अहिले बुबाकै कारण सफलता हात परेको स्वीकार्छिन् उनी।
'जब गेम जित्न थालियो अनि त्यसपछि चाहिँ हैन गर्नपर्ने रहेछ। सकिँदो रहेछ भन्ने मनमा भयो। त्यसपछि खेलमा मन लाग्न थाल्यो,' उनले भनिन्।
स्वर्ण चुकेको साग
हुमीले अल्ट्रा रेसमा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय ट्रेल रेसमा पदकहरु जितेकी छिन्। गएको तेह्रौं दक्षिण एसियाली खेलकुदमा पनि उनले दुवाथोलनमा रजत पदक हात पारिन्। पहिलो हुने श्रीलंकाकी खेलाडी भन्दा उनी २ मिनेटले पछि परेकी थिइन्।
'सागको बेलामा मैले लगातार धेरैवटा गेम खेलेको थिएँ। जापान गेम लगायतका ५ वटा गेम खेलेको थिएँ। त्यो पछि लगत्तै सागमा खेलेको थिएँ,' उनीले भनिन्, 'त्यसले गर्दा ट्रेनिङमा पनि अलि ओभरलोड भयो। कुनै गेम नखेली त्यसमा मात्र फोकस गरेको भए सायद् राम्रो हुन्थ्यो। साइकल पनि अलि पुरानै थियो। नत्र भए गोल्ड ल्याउँथे जस्तो लाग्छ।'
छोरीले दक्षिण एसियाली स्तरमा रजत पदक ल्याएको सुन्दा पनि दामोदर बुढामगरलाई हर्षित बनाएन। उनले सोचेका थिए - स्वर्ण आउला।
'मेरो उद्देश्य भनेको छोरीले गोल्ड मेडल नै जित्नुपर्छ भन्ने थियो। उसले फोन गरेर भन्दा यो अलिकति मिलेन तैले के गल्ती गरिस् भनेँ। म जति सन्तुष्ट हुनुपर्ने हो त्यति हुन सकिन,' उनले सुनाए, 'गोल्ड मेडल जितेको भए सायद त्यो सुखको क्षण हुन्थ्यो नै। तर उद्देश्य नपुग्दा धेरै खुशी हुन भने सकिन।'
सागमै स्वर्ण आउनेगरीको तयारी नपुगेको चाहिँ उनलाई पनि लाग्छ।
त्यसो त गोल्ड मेडल हात पार्नका लागि खेलकुद परिषदबाट जति सहयोग मिल्नुपर्ने हो, मिलेको थिएन। उनीहरुले सातौं राष्ट्रिय गेमको समयमा प्रयोग गरेको पुराना साइकललाई मर्मत गरेर प्रयोग गरेका थिए। 'क्लोज क्याम्प पनि एक महिना मात्रै राख्यो। नभए घरमै बस्ने। सामान्य ट्रेनिङ लिने। डाइटिङका कुराहरु पनि आउने भइ हाले। केही टुंगो पनि थिएन,' तयारीको पृष्ठभूमि सुनाए उनले।
'अहिले मेरी सानी छोरी पनि नेसनलमा थर्ड मेडलिस्ट हो। उनीहरुलाई नै हेरेर एउटा कोच पनि, गार्जियन पनि भएर मैले अहिले रोल खेलिरहेको छु,' उनले भने। त्यसैले त अहिले काठमाडौंमा तीन जना बाबुछोरी बसेका छन्- साझा सपना पूरा गर्न।
'मैले गेमहरु बाबाले केके भन्नुहुन्छ नि त्यही सम्झेर नै कुदेकी हुन्छु,' हुमीले भनिन्।
हुन पनि हुमीले दुईवटा विधामा सहभागिता जनाएर दुवैतर्फ खरो उत्रने प्रयास गरिरहेकी छिन्।
'राम्रो भइरहेको छ किनभने साइकलिङमा दिदीहरुले सपोर्ट गर्नुहुन्छ। ट्रेल रनिङमा मीरा दिदीले सपोर्ट गर्नुहुन्छ। अनि बाबाले ट्रेल रनिङ प्राक्टिस गराउनु हुन्छ,' उनले भनिन्, 'साइकलिङका लागि छुट्टै टाइम निकाल्ने। रनिङका लागि छुट्टै टाइम निकालेर म्यानेज गर्छु।'
दामोदरले सपना देख्न छाडेका छैनन्। छाडुन पनि कसरी छोरीहरु उनले देखेकै सपनाको बाटोमा छन्। सफलता पहिलै गाँसमा कहाँ हुन्छ र? दंगलमा जस्तै दामोदर आफ्नो हठ छाड्ने मुड छैनन्।