PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न कुनै दराज छ, न कुनै मदुस, यति धेरै दु:ख कहाँ लुकाएर राख्नु हुन्छ बुबा?



पहिलोपोस्ट

न कुनै दराज छ, न कुनै मदुस, यति धेरै दु:ख कहाँ लुकाएर राख्नु हुन्छ बुबा?

  • कृपा अधिकारी -

बुबा शब्द आफैमा अर्थपूर्ण छ। संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुबा घरको जग हो, बुबा नै परिवारको उज्ज्यालो हो। संसारको आठौँ आश्चर्य बुबा हो , जसलाई दिन मात्र आउँछ , सन्तानबाट कहिल्यै लिन आउँदैन।

मेरो बुबा भन्ने गर्नुहुन्छ - ‘जिन्दगी जिउनको लागि दुई तरिका सधैँ अपनाउनु’

- जे भइराख्या छ हुन देउ , सहदै जाउ, चुक्‍क नबोल, दबेर बस,

- र, अर्को : आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने, आफ्नो जिम्मेवारी आफै उठाउ, आत्मबल दह्रो बनाउ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि।

बुबा जब खुशी हुनुहुन्छ तब आफ्नो सन्तानलाई आफ्नो काँधमा बोक्‍नुहुन्छ। काँधमा बसाउनुको पनि छुट्टै कारण छ।

बुबा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस् जुन कुराबाट म सदैव बञ्चित थिएँ। हरेक बुबाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्।

बुबा सन्तानको सुरक्षाकवच हो, हिम्मत हो। सहारा र पहिलो मार्गदर्शक पनि हो। मलाई लाग्छ मेरो बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो। मेरो परिवार हो। घरको जग हो।

आमाको ओठको मीठो हाँसो बुबा हजुर हो। आमाको अभिमान भने पनि स्वाभिमान भन पनि बुबा नै।

बुबा हजुर बजार जानहुन्थ्यो तर कैयौ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्‍नु हुन्थ्यो। हजुरको खल्तीमा पैसा नहुँदा पनि त्यहि साडी हेर्दै जाने हेर्दै आउने गर्नुहुन्थ्यो। कामदेखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुशी छर्नका लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुबासँग टन्नै पैसा छ।

त्यो साडी त्यति बाक्लो रै'छ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौ न भनेर बुबालाई कहिल्यै भन्नै सक्नु भएन। म अझै दोधारमै छु, आमाको साडी निकै बाक्लो थियो? या बुबाको खल्ती पातलो? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुबाको इतिहास कसैले पढ्दैन, किन?

हो, हाम्रो सपनालाई पूरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने बुबा नै हो। आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी।

केही पुराना याद 

बुबा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनु हुन्थ्यो। म फतक्‍कै गल्दा हजुर मलाई आफ्नो काँधमै बोक्‍नुहुन्थ्यो, आफूले नदेखेका कुराहरु पनि मलाई देख्यौ? देख्यौ? भन्दै सोध्‍नु हुन्थ्यो। त्यति बेला मलाई लाग्थ्यो, मेरो बुबा त मलाई कति माथिसम्म उचाल्न सक्‍नुहुन्छ, मेरो बुबाले त यो घर नै उचाल्न सक्‍नुहुन्छ होला।

बुबाले दिनरात नभनी घरपरिवारका लागि आफ्नो जीवन, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नुभयो। आफ्ना साना भाइ बहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनु भयो।

केही पाइन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिए जस्तो होइन सम्बन्ध, एकोहोरो भए पनि उमेरको अनुभव र भोगाईले आफ्नो भाइ बहिनीलाई सुबिधा दिन सिकाउनु भयो।

मैले मेरो बुबाले गरेको मेहनत राम्रोसँग देखेकी छु। बुबा बिहानै कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुबाको लागि खान बनाएर लग्थे। म भ्यागुता जस्तै बुरुक बुरुक उफ़्रिन्थेँ। मेरो हातबाट खाना पोखिन्थ्यो। मेरो बुबा आफ्नो बच्चाले ल्याएको भन्दै बचेको खाना चिसो कुवाको पानीले मुछ्दै खानुहुन्थ्यो।

मेरो बुबाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहाँ फोरुवाले बाउसे गर्दै बस्‍नुहुन्थ्यो। त्यो फोरुवाले बुबाको हातमा फोकै फोका पारिदिन्थ्यो, त्यही फोरुवाको बिंडले नै बुबाको फोका फुटाउथ्यो। खेत रोप्‍ने मेलो सहज पार्दिनु हुन्थ्यो। त्यसैले त आज हामीले हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौ। जति नै दु:ख भए पनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुबा।

बुबाको न कुनै दराज छ, न कुनै मदुस, यति धेरै दु:ख हजुर कहाँ लुकाएर राख्नु हुन्छ?

मलाई याद छ, दुखेको त्यो खुट्टाले सकी नसकी झिजैझिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनु हुन्थ्यो तपाई। तरकारी राम्रो होस् भनी डोकाका डोका मल खन्याउनु भयो, त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरी विभिन्न थरीका फलफूल फूलेका छन् नि है बुबा?

मेरो सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियासँग कति झुक्‍नु भयो होला तर आज हजुरकै सन्तानले मेहनत नै नगरी भाग्यलाई दोष दिँदै बस्दा हजुरको सपना त बन्द सटर भित्र खापिँदै खापिँदै ढुसी लाग्दै गुम्सेको पो रहेछ।

हरेक बुबाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन्। बुबाले बारम्बार झक्झकाउने पनि गर्नु भएको छ मलाई। आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्नु, बुबा आमाको आशामा कहिल्यै नबस्नु, जति नै हुनेखाने भए पनि माइतीको धाक नलगाउनु। बुबा आमाको अनुपस्थितिमा पनि आफ्नो जीवनलाई उत्तिकै सार्थक बनाउन सक्‍नु।

छोरा-छोरीले याद गर्नुपर्ने विषय

- जसले तिम्रो हृदयलाई प्रेम गर्छ , उसलाई हृदयदेखि सम्मान गर्नु। म मेरो सन्तानलाई मैले रोजेकोसँग विवाह गर्नुपर्छ भनेर कुनै प्रकारको करबल गर्दै गर्दिन, तर जसले तिम्रो अस्तित्वको पूजा गर्छ, त्यो मान्छेलाई ढुंगाले कदापी नहान्नु।

- पीडा कसैलाई नदिनु र आफु पनि नसहनु।

हजुरले आफ्ना आफन्तहरुसँग कुरा गर्दागर्दै सुनेकी छु, हजुर भन्ने गर्नुहुन्छ रे - यो सबै बच्चा माथिको जिम्मेवारी हो मेरो।

बुबा हजुरले कसरी सोच्नु भयो कि सबै हजुरकै जिम्मेवारी हो? हजारौ जुनी चुकाउन सक्दैनौ हजुरको त्यो सबै मायाको ऋण। बुबा जब दुनियाँले मुख बटारेर हिँड्छन्, असफलताको आशु बनेर आँखा नै ओभानो हुन दिँदैन। त्यसै बेलामा हामीलाई आवाज आउँछ। हामीले त्यो सुन्न सक्नुपर्छ जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ। अनि भन्नु हुन्छ - किन? किन चिन्ता लिन्छौ?

म सधैं तिमिसँगै तिम्रै छायाँ बनेर हिँडेको हुन्छु। बुबा तब पनि भन्नुहुन्छ ‘मेहेनत गर, म छु।'

बुवाको यहि कुराले हामीलाई थप हौसला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुबाको चिन्तालाई सफलतामा बदल्न।

- कस्तो माया हो बुवा यो? घरमा मीठो तरकारी पाक्दा हजुरलाई कहिल्यै भोक नै लाग्दैन?

- बुबा कस्तो माया हो यो? हजुरको लहरे खोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, लोडसेडिङ हुँदा बखत हजुर उठ्नै नसक्दा पनि मेरो सामु आएर मलाई नै कापीको हाते पंखाले हम्काउँदै बस्नुहुन्छ।

कस्तो प्रगाढ सम्बन्ध यो बुबा र सन्तानको! बच्चा थोरै पीडामा भए पनि आफै अगाडि आएर सबै दु:ख पानी पिएजस्तो घुटुक्क निल्दिन्छन्।

बुबा मेरो मन बिनाकारण दु:खी हुन्छ। हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ, बिना आवाज, बिना आशु रुनुहुन्छ। आफ्नो बच्चाको दु:खको काँडा आफ्नै पोल्टोमा सिउरिनु हुन्छ, त्यो काँडाले बुबालाई कति घोच्छ होला है? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न।

बुबा जिन्दगीमा प्रगति होला नहोला त्यो त अनुमान लगाउनै सक्दिन। तर, मनलाई बेस्सरी दु:खले च्यापेको बेलामा आफ्नो बुबाको काखमा आएर रुन सकेँ भने पनि मलाई सात जूनी रुन नपर्ने आशिष हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ।

सन्तानको दायित्व

सानैबाट सन्तानले बुबा आमालाई प्रयोग गर्दै आयौ, कहिल्यै भिडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लग्यो। उहाँको हात कहिल्यै छोड्नै खोजेन मात्र आफ्नो स्वार्थको लागि। जब उहाँहरुलाई हाम्रो साथको आवश्यकता रह्यो, हामी कहिले पढाईको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौं।

त्यो बुबाआमा नै हो जो आफ्नो सन्तानको लागि आफूसँग भएको अन्तिम चिज पनि बेचिदिने। आमाको तित ढिके फुली, बुबाको लालपुर्जा बेचेर हामीले आफ्नो सपना पुरा गर्‍यौं। तर, बुबाआमाको अन्तिम श्वाशमा पनि हामी उहाँहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाँकै ज्यूनी खोज्न पनि पछि पर्दैनौ।

अब हामी सबैले आफै बिचार गरौ न त के हामीहरुले उहाँहरुलाई उहाँहरुले जत्तिकै निश्चल माया गरेका रहेछौ त?

म अझै पनि दोधार मै छु। हाम्रो लागि दु:ख गर्दा गर्दै गलेको त्यही शरीरमाथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए, भने हामी उहँहरु सँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? या फेरि पनि बहाना बनाउँदै परपर भाग्छौ होला?

आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मूर्तिमा राख्दा-राख्दै , बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काँधको भारी अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला?

जवानीमा खर्चिएको सम्पूर्ण त्याग, इच्छाको बलिदान, अस्तित्वको सम्मान गर्दै बुबालाई त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला?

हामीलाई सानो छँदा दिएको संस्कार, शिक्षा, मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया, त्यो काँधको जिम्मेवारी हामी अभिभावक हुँदा पनि उहाँहरुले जस्तै गरी आफ्नो सन्तानको लागि पूरा गर्नसक्छौं होला?

मैले संसारमा सबैभन्दा बढी बिश्वास गर्ने ब्यक्ति नै मेरो बुबा हो। उहाँको पेट दश दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो इमान बेचेर क्षणिक खुसी हुने दुष्प्रयास कहिल्यै गर्नुभएन। बुबाको सम्पति होइन बुबाको छायाँ आफुसँग झल्कनु नै ठूलो आशिर्वाद हो।

मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ, सम्पूर्ण बुबाहरुमा धेरै माया, अब त आफ्नो काँधको भारी बिसाइदिनुस न है?

कुशेऔंशीको हृदयदेखि नै सम्पूर्ण बुबाहरुमा समर्पित शुभकामना!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell