काठमाडौं : नेपालमा कोभिड-१९ को संक्रमण पछिल्लो साता दैनिक औसतले ६१५ जनाका दरले संक्रमण थपिँदै गएका छन्। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा दैनिक १०० भन्दा बढीले नयाँ संक्रमित थपिँदै गएका छन्।
पछिल्लो दूई साताको नेपालको दैनिक संक्रमण दर हेर्दा साउन २१ मा ३८१ जनामा संक्रमण पुष्टि भएकोमा भदौ २ मा आइपुग्दा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणको अवस्था
मंगलवारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २८ हजार २५७ जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएकोमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ५८० जना डिस्चार्ज भइसकेका छन्। जुन कुल संक्रमितको ६२.२ प्रतिशत हो।
त्यस्तै कुल संक्रमितको ३७.४ प्रतिशत अझै उपचारका क्रममा विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका छन्। जुन १० हजार ५६३ हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागको तथ्यांकअनुसार संक्रमितमध्ये ०.४ प्रतिशत संक्रमितको मृत्यु भएको छ। जुन ११४ हो। यो तथ्यांक मंगलवारसम्मको अध्यावधिक विवरण हो।
लिंगका आधारमा संक्रमण
कुल संक्रमितमध्ये १८.२ प्रतिशत संक्रमित महिला हुन्। २८ हजार २५७ संक्रमितमध्ये पाँच हजार १२९ मात्र महिला रहेका छन्। बाँकी २३ हजार १२८ पुरुष हुन्। यो संख्या कुल संक्रमितको ८१.८ प्रतिशत हो।
उमेर समूहका आधारमा संक्रमित
उमेर समूहका आधारमा संक्रमणको अवस्था हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्। कुल संक्रमितमध्ये यस उमेर समूहका ३७.७ प्रतिशत रहेका छन्। त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका २४.४ प्रतिशत रहेका छन्। ११ देखि २० वर्ष उमेर समूहका १३.१ प्रतिशत संक्रमित छन्।
कुल संक्रमितको १२.१ प्रतिशत ४१ देखि ५० वर्ष उमेर समूहका छन्। भने ५.४ प्रतिशत ५१ देखि ६० वर्षसम्मका छन्।
१० वर्षसम्मका संक्रमित बालबालिकाको संख्या कुल संक्रमितको ३.८ प्रतिशत रहेको छ। ६१ देखि ६० वर्ष सम्मका २ प्रतिशत र ७१ देखि ८० वर्ष सम्मका ०.९ प्रतिशत छन्। कुल संक्रमितमध्ये ६४ जना ८० वर्ष माथिका छन् भने ७३ जनाको उमेर नखुलेको तथ्यांकमा उल्लेख छ।
प्रदेशगत अवस्था
प्रदेशगत अवस्थामा संक्रमण हेर्दा सबैभन्दा बढी प्रदेश २ र सबैभन्दा कम गण्डकी प्रदेशमा संक्रमण पुष्टि भएको छ। प्रदेश २ मा एक हजार ४५ महिला र ७ हजार १७२ पुरुष गरी ८ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ पछि प्रदेश ५ मा संक्रमण बढी छ। पाँच हजार २६२ जनामा संक्रमण पुष्टि भएको प्रदेशमा ७५८ महिला र चार हजार ५०४ पुरुष छन्। सुदुरपश्चिम प्रदेशमा पाँच हजार ७६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये महिला एक हजार २४३ महिला र तीन हजार ८३३ पुरुष छन्।
सुरुवाती अवस्थामा संक्रमण कम देखिएको बागमतीमा अहिले संक्रमितको संख्या तीन हजार नाघिसकेको छ। तीन हजार ३५८ जनामा संक्रमण पुष्टि भएको बागमतीमा एक हजार महिला र दुई हजार ३५८ पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै प्रदेश १ मा २ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ५१९ महिला र एक हजार ७७७ जना पुरुष छन्।
कर्णाली प्रदेशमा २९२ महिला र एक हजार ८८४ पुरुष गरी २ हजार १७६ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। गण्डकी प्रदेशमा २७२ महिला र १ हजार ६०० पुरुष गरी एक हजार ८७२ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशगत अवस्था
प्रदेश १
प्रदेश १ मा सबैभन्दा बढी मोरङमा एक हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ भने सोलुखुम्बुमा ८ जनामा संक्रमण देखिएको छ।
प्रदेश २
प्रदेश २ मा सबैभन्दा बढी रौतहटमा एक हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ का पाँच वटा जिल्लामा एक हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। धनुषा, महोत्तरी, सर्लाही र पर्सा जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या एक हजार बढी छ।
बागमती
संघीय राजधानी काठमाडौंमा हालसम्म सबैभन्दा बढी संक्रमित पहिचान भएका छन्। ७७ वटा जिल्लामा मध्ये काठमाडौंमा एक हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा मात्र २ हजार ३४० छ। जसम्धये ललितपुरमा ३३३ र भक्तपुरमा १६३ जनामा संक्रमण देखिएको छ।
गण्डकी
गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमण नवलपरासी पूर्वमा पुष्टि भएको छ। त्यहाँ ३७४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै स्याङ्जामा पनि संक्रमितको संख्या ३२० छ। तनहुँ, बाग्लुङ र कास्कीमा संक्रमितको संख्या २ सय नाघेको छ।
प्रदेश ५
प्रदेश ५ मा सबैभन्दा बढी संक्रमण पुष्टि भएको जिल्ला हो कपिलवस्तु। कपिलवस्तुमा ९७८ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ मा पाँच सय बढी संक्रमित पहिचान भएका जिल्ला पाल्पा बाँके, रुपन्देही र दाङ छन्।
कर्णाली
कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा संक्रमित छन्। दैलेखमा एक हजार ५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेतमा ६५१ जनामा संक्रमण पुष्टि भएको छ भने सल्यानमा २८२ जनामा संक्रमण पुष्टि भएको छ। अन्य जिल्लामा संक्रमण सयभन्दा कम छन्।
सुदुरपश्चिम
सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा एक हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डोटीमा ८४१ अछाममा ७३७ तथा बाजुरा ६२३ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरमा पनि संक्रमण पाँच सय बढीमा पुष्टि भएको छ। कञ्चनपुरमा ५९८ जनामा संक्रमण पुष्टि भएको छ। सुदुरपश्चिममा सबैभन्दा कम ४७ जनामा संक्रमण पुष्टि भएको छ।