
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। आज पाँच जना थपिएपछि संक्रमितको संख्या जिल्लामा १०२ पुगेको हो।
आज पनि धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका-९ को २९ वर्षीय एक महिला र बनेपा नगरपालिका-१३ का एक पुरुषमा कोराना संक्रमण पुष्टि भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टले जनाएको छ। मंगलवार अस्पतालका छ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण भेटिएको थियो।
केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सोमवार चार, आइतवार पाँच, शनिवार नौ र शुक्रवार १० जनामा संक्रमण देखिएको थियो। संक्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन्।
हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना संक्रमण देखिएको पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ जना उपचारपछि घर फर्किएका छन्। बाँकी संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ।
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ शय्याको क्वारेन्टाइन तथा ३९ शय्याको आइसोलेसन बेडको व्यवस्था गरेका छन्। पोस्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टाइनमा ७६ पुरुष र १३ महिला बसेका छन्।
त्यस्तै, छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टाइनको बसाईपछि घर फर्किएका छन्। हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन्।