
झापा : कनकाई नगरपालिकास्थित समर्पण भवनमा समुदायले स्थापना गरेको पीसीआर मेसिन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरेको छ। मेची प्रादेशिक अस्पताल भद्रपुर मातहत रहने गरी सञ्चालनको मन्त्रालयबाट स्वीकृति आएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए।
मेची प्रादेशिक अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले मन्त्रालयको स्वीकृति आइसकेपछि अब कर्मचारी व्यवस्थापन गरेर पीसीआर मेसिनलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए। झापामा अब दुई पीसीआर मेसिन सञ्चालन हुने छन्। मेची अस्पतालमा रहेको पीसीआर मेसिनले यस अघिदेखि नै स्वाब परीक्षण गर्दै आएको छ।
कोरोनाबाट आर्थिक समस्यामा परेका विपन्न परिवारलाई सहयोग जुटाउन सञ्चालित ‘एकका लागि एक अभियान’ले सरकारलाई सहयोग पुर्याउन जनस्तरबाट सहयोग रकम उठाएर एउटा पीसीआर मेसिन खरिद गरेको थियो। सो मेसिनलाई कनकाईको समर्पण भवनमा जडान गरिएको छ। मन्त्रालयको टोलीले मेसिन राख्ने स्थानको हालै अध्ययन गरेको थियो भने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायतले सो स्थानको केही दिन अघि अवलोकन गरेका थिए।
मेची अस्पताल मातहत दुई पीसीआर दुई अलग अलग स्थानमा सञ्चालन हुने भएको हुँदा जनशक्ति व्यवस्थापनका लागि कनकाई नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख पोखरेलले बताए। समुदायबाट खरिद गरिएको सो पीसीआर मेसिन अब ‘एकका लागि एक अभियान’ले मेची अञ्चल अस्पताललाई हस्तान्तरण गर्ने अभियानका संयोजक महेन्द्र गिरीले बताए।