
रौतहट : लाखौँ रुपैयाँसहित दुई जना भारतीय महिला पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए।
रकमसहित पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नम्बर १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन्। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बालिकालाई दुर्व्यवहार गर्नेमाथि मुद्दा
कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गर्ने गैरदलित युवकमाथि जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको छ। कटहरिया २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए।
चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र बालिकाको स्वास्थ परीक्षणसमेत भएको डीएसपी महतोले जानकारी दिए। घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।