काठमाडौँः लगातार परेको वर्षातसँगै आएको बाढीपहिरोसँगै दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन्। प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन्।
ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय लोकेश कठायत बेपत्ता भएका छन्। यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ। अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ। मृत्यु हुनेमा नौमूले– ४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।
बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन्। कालिका बजारबाट घर जान्छु भनेर गएका उनको घरभन्दा करीब दुई घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो। टाउको र अन्य भागमा चोट देखिएको छ। घटनास्थल मुचुल्का गरिएको छ। शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख ल्याउँदै गरिएको छ। नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ।
राजमार्ग अवरुद्ध
लगातारको वर्षात्सँगै कर्णाली राजमार्गको दैलेखखण्ड अवरुद्ध भएको छ। सदरमुकाम दैलेख बजारदेखि विभिन्न पालिका जोड्ने सडक अवरुद्ध छन्। पालिकाले वडास्तरसम्म निर्माण गरेका अधिकांश सडक अवरुद्ध भएका छन्। कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुबानमा पर्ने खतरा भएपछि मङ्गलबार राति नै बस्ती उठाइएको छ। राति नै रामाघाट बजारमा बसोबास गर्नेहरुलाई प्रहरीले उद्धार गरेको हो। हरेक वर्ष कर्णालीमा बहाव बढेसँगै रामाघाट बजार नजीक बग्ने रामाघाट खोला थुनिने र खोला नजीकै रहेको बजार जोखिममा पर्दै आएको छ। सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न हरेक वर्ष कुरा उठे पनि दिगो समाधानका लागि भने अहिलेसम्म काम भएको छैन। रासस
