PahiloPost

Jun 24, 2025 | १० असार २०८२

लकडाउन भन्दा कडा निषेधाज्ञा : ‘मर्निङ वा इभिनिङ वाक’ निस्के पनि कारबाही



रासस

लकडाउन भन्दा कडा निषेधाज्ञा : ‘मर्निङ वा इभिनिङ वाक’ निस्के पनि कारबाही

  • नारायण ढुङ्गाना-

काठमाडौं : काठमाडौं उपत्यकामा बिहीवारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भनेर निस्कने सोच बनाउनुभएको छ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ।

रातिदेखि लागू हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ।’

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै, यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

कोभिड-१९ को संक्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन। कुनै सवारी पाससमेत जारी गरिने छैन। त्यसैले लकडाउन भन्दा आज राति १२ बजेदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ।

लकडाउनको समयमा उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन। यसपटक दैनिक एकसय भन्दाबढी संक्रमित देखिन थालेको र अस्पतालमा शय्याको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए। आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलवारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ। राति १२ बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन। उक्त आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ।

संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौं उपत्यकामा लागू हुने गरी उक्त निर्णय गरिएको हो। अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारबाही हुनेछ। सार्वजनिक तथा निजी सवारी साधनसमेत निस्कन पाउने छैनन्। यसपाली खाद्यान्न, औषधिजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन्। काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ। जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन।

कोभिड-१९ को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ। अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० बजेसम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। त्यसबाहेकका अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन।

सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ। पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून संख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौंका प्रजिअ दाहालले बताए।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारबाही गरिने छ। आदेश उल्लंघन गरे कडा कारबाही हुने चेतावनी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell