PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउन हटेपछिको 'लापरबाही'ले उपत्यकामा बढेको संक्रमण, निषेधाज्ञाबाट होला नियन्त्रण?



सहयोग रञ्जित

लकडाउन हटेपछिको 'लापरबाही'ले उपत्यकामा बढेको संक्रमण, निषेधाज्ञाबाट होला नियन्त्रण?
लकडाउन खुलेपछिको काठमाडौँ। फाइल फोटो।

काठमाडौँ: काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थिए।

पछिल्लो एक सातायता उपत्यकामा एक हजारभन्दा बढी कोभिड १९ संक्रमित पहिचान भएका छन्। हाल नयाँ थपिएका संक्रमित अधिकांश बाहिरबाट आएको देखिएको छ। साथै स्थानीय व्यक्तिमा समेत संक्रमण देखिएको छ।

लकडाउन अन्त्य भएसँगै उपत्यकामा दैनिक रुपमा संक्रमिको संख्या बढ्दै गएको थियो। बाहिरी जिल्ला र भारतबाट नै  मानिसहरु निर्वाध रुपमा उपत्यका प्रवेश गरिरहेका थिए। साथै बजारमा पनि भीड नियन्त्रण बाहिर जाँदै थियो। लकडाउन खुकुलो भएपछि चुलिएको लापरबाहीका कारण संक्रमण समुदायस्तरमा पुगेको छ। फैलिएको संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको सहारा लिएको छ।

यसअघि स्थानीय तहले संक्रमित देखिएका क्षेत्रमा सिल गर्ने निर्णय गरेका थिए। अहिले स्थानीय प्रशासनले करिब लकडाउन सरह नै निषेधाज्ञा आदेश जारी गरेका हुन्।

१० दिनमा १३ सय संक्रमित थपिए

उपत्यकामा बुधबारसम्म कुल दुई हजार ४९९ जनामा संक्रमण पहिचान भएको छ। उपत्यकामा १ हजार ५०० भन्दा बढी कोभिड एक्टिभ केस छन्।  उपत्यकामा पछिल्लो १० दिनयता  दैनिकजसो १०० भन्दा बढी संक्रमित थपिँदै गएका छन्।

कहिले कति थपिए?

उपत्यकामा साउन २६ गते ४४, साउन २७ गते १३४, साउन २८ गते १३८, साउन २९ गते १२७, साउन ३० गते ११९, साउन ३१ गते ९८, साउन ३२ गते १९२, भदौ १ गते १६८, भदौ  २ गते २०५ र भदौ ३ गते १५९ जनामा संक्रमण देखिएको हो।  तथ्याङ्क अनुसार उपत्यकामा १० दिनमा एक हजार ३८४ संक्रमित थपिए। साथै संक्रमणबाट मृतकको संख्या पनि बढ्दै गएको छ।

निषेधाज्ञाको पूर्वसन्धामा उपत्यकामा १५९ जनामा कोरोना संक्रमित पहिचान भए। काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखियो।

यससँगै बुधबारसम्म काठमाडौँमा एक हजार ९७८ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, ललतिपुरमा ३५० र भक्तपुरमा१७१ जनामा संक्रमण देखिएको छ।

निषेधाज्ञामा के गर्न नपाइने?

समुदायमा नै संक्रमण फैलिन सक्ने भन्दै बुधबार रातिदेखि प्रशासनले निषेधाज्ञा लागू गरेको छ। यस अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

भदौ १० गते मध्यरातसम्म लागू हुने निषेधाज्ञा अवस्था हेरेर फेरि थप वा परिवर्तन हुन सक्ने बताइएको छ।

यस अवधिमा प्रशासनले सर्वसाधरणको आवतजावतलाई ‘लकडाउन’ जस्तै पूर्णरुपमा रोक लगाएको छ।

सर्वसाधरणलाई औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु र सेवाको खरिदको काममा बाहेक अन्य कामका लागि बाहिर ननिस्कन आग्रह गरिएको छ। यसरी बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ।

अत्यावश्यक बाहेक अन्य व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यावश्यक सेवा प्रदान गर्दै आएकाहरुले समेत सीमित कर्मचारी राखेर सेवा प्रदान गर्न प्रशासनले आग्रह गरेको छ।

प्रशासनले अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका अन्य निकायले प्रयोग गर्ने सवारीसाधन उपत्यका प्रवेश गर्न पनि रोक लगाइएको छ। यस्तै, निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ। तर, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन–जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने पाइनेछ।

निषेधाज्ञा लागू भएको समयमा बैंकिङ सेवालगायत विभिन्न निकायले विद्युतीय माध्यम वा न्यूनतम कर्मचारीबाट सुरक्षा मापदण्ड अपनाई आवश्यक सेवा प्रवाह गर्न प्रशासनले छुट दिएको छ। बैंकहरुले निश्चित शाखाबाट न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell