PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यी ९ जिल्ला जहाँ छन् एक हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा बढी प्रदेश २ मा



सहयोग रञ्जित

यी ९ जिल्ला जहाँ छन् एक हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा बढी प्रदेश २ मा
फाइल फोटो

काठमाडौँ: कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। भदौ ३ गतेसम्म देशभर २८ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ।

बुधबार थप ६८१ जना संक्रमित पहिचान भएसँगै देशभर यो संख्या २८ हजार ९३८ पुगेको छ। यस्तै, कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ। लकडाउन अन्त्यसँगै संक्रमितको संख्या बढ्दै जाँदा विभिन्न जिल्ला र स्थानीय तहले संक्रमणको अवस्था हेरेर फेरि लकडाउन वा निषेधाज्ञा लागू गरिरहेको छ।

हालसम्म ७७ मध्ये ९ जिल्लामा एक हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित प्रदेश २ मा रहेका छन्। संक्रमण बढी हुने जिल्लाहरुमा आवश्यकता अनुसार सुरक्षा सतर्कता अपनाइएको छ।

कुन प्रदेशको कुन जिल्लामा छन् एक हजारभन्दा बढी संक्रमित?

प्रदेश १

प्रदेश १ मा मोरङमा मात्रै एक हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो केही समययता मोरङमा संक्रमितको संख्या हवात्तै बढ्दै गएको हो।

बुधबारसम्म मोरङमा एक हजार २१६ संक्रमित रहेका छन्। प्रदेशभर दुई हजार ४१९ जना संक्रमित छन्। मोरङपछि सबैभन्दा बढी संक्रमित झापामा ४७४ र सुनसरीमा ३९० संक्रमित छन्।  अन्य जिल्लामा दुई सयभन्दा कम संक्रमित छन्।

प्रदेश २

प्रदेश २ कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको छ। प्रदेशका ८ मध्ये ५ जिल्लामा एक हजारभन्दा बढी संक्रमित पहिचान भएका छन्।

सबैभन्दा बढी संक्रमित रौतहटमा छन्। यहाँ एक हजार ७१७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि पर्सामा एक हजार ६९७, सर्लाहीमा एक हजार १७६, धनुषामा एक हजार १८४ र महोत्तरीमा एक हजार ९८ जनामा संक्रमण देखिएको छ।

प्रदेश २ मा आठ हजार ४२५ जना संक्रमित छन्। सप्तरीमा ६६८ जना, बारामा ५५४ जना र सिरहामा सबैभन्दा कम ३३१ जना संक्रमित रहेका छन्।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा एक हजारभन्दा बढी संक्रमित काठमाडौंमा मात्रै रहेका छन्। बुधबारसम्म काठमाडौंमा एक हजार ९७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसपछि ललितपुरमा ३५० जना र चितवनमा २९० जनामा संक्रमण देखिएको छ। अन्य जिल्लामा दुई सयभन्दा कम संक्रमित छन्।

वाग्मती प्रदेशमा हालसम्म तीन हजार ५४२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको १० वटै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार कटेको छैन। कुल एक हजार ८९९ संक्रमित पहिचान भएको यस प्रदेशमा सबैभन्दा बढी संक्रमित नवलपरासी पूर्वमा छन्। यहाँ ३८६ जनामा संक्रमण देखिएको छ। त्यसपछि स्याङजामा ३२०, बाग्लुङमा २७२, कास्कीमा २५७ र तनहुँमा २३१ जनामा कोरोना संक्रमण देखिएको छ। अन्य जिल्लामा दुई सयभन्दा कम संक्रमित छन्।

प्रदेश ५

प्रदेश ५ मा पनि कुनै पनि जिल्लामा एक हजारभन्दा बढी संक्रमित छैनन्। यहाँ सबैभन्दा बढी संक्रमित कपिलवस्तुमा ९८४ जना रहेका छन्। त्यसपछि बाँकेमा ७६२ , दाङमा ७४५, रुपन्देहीमा ६०२, पाल्पामा ५७३,  प्युठानमा ४०८, गुल्मीमा ३८० र बर्दियामा ३०७ जनामा संक्रमण देखिएको छ। कुल पाँच हजार ३४७ संक्रमित रहेको यस प्रदेशका अन्य जिल्लामा दुई सयभन्दा कम संक्रमित छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको एक जिल्लामा एक हजारभन्दा बढी संक्रमित छन्। दैलेखमा एक हजार ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि सुर्खेतमा ६६४ र सल्यानमा २९९ जनामा कोरोना संक्रमण देखिएको छ। बाँकी ८ जिल्लामा दुई सयभन्दा कम संक्रमित छन्। प्रदेशभर दुई हजार २२० संक्रमित छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा पनि एक जिल्लामा मात्रै एक हजारभन्दा बढी संक्रमित छन्। कैलालीमा एक हजार ३२० जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि डोटीमा सबैभन्दा बढी ८४५, अछाममा ७४०, बाजुरामा ६२३, कञ्चनपुरमा ५९८, डडेलधुरामा ३१४, बैतडीमा ३०१  र बझाङमा २९८ संक्रमित रहेका छन्।

यस प्रदेशमा कुल पाँच हजार ८६ संक्रमित रहँदा दार्चुलामा सबैभन्दा कम ४७ संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell