PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

लकडाउनमा सडकमा निस्किएको भन्दै स्थानीयमाथि प्रहरीको लाठी



फूलमाया पुरी

लकडाउनमा सडकमा निस्किएको भन्दै स्थानीयमाथि प्रहरीको लाठी

विराटनगर : मोरङको रंगेली नगरपालिका नम्बर वडा ५ स्थित आमगाछिमा स्थानीय र प्रहरीबीच विवाद भएको छ। लकडाउनका बेला सडकमा निस्किएको भन्दै प्रहरीले स्थानीयलाई लाठी प्रहार गरेको वडा अध्यक्ष महानन्द मण्डलले बताए।

वडा अध्यक्ष मण्डलका अनुसार बुधवार थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि छ जना संक्रमित भइसकेका छन्। कोरोना संक्रमण बढ्दै गएकाले लकडाउनमा थप कडाइ गर्ने वडा कार्यालयमा निर्णय भएको थियो। त्यस्तै, उनले स्थानीय दुई प्रहरी चौकीका प्रतिनिधिसँग लकडाउन कडाइका विषयमा आजै छलफल गरेका थिए।

त्यसो त कार्यालयबाट निस्कँदा वडा अध्यक्ष मण्डल आफैंले स्थानीयलाई पनि लकडाउनको पालना गर्न र सुरक्षित रुपमा घरमै बस्न सुझाएका थिए। तर, साँझ प्रहरीले स्थानीयलाई सम्झाउनु पर्नेमा अनावश्यक लाठी प्रयोग गरेको वडा अध्यक्ष मण्डलको भनाइ छ।

‘वडामा पनि कोरोना संक्रमण बढ्दै गएकाले अब थप कडाइ गर्नुपर्छ भनेकै हो’, उनले भने, ‘मैले पनि सम्झाएकै हो, तर उहाँहरु (प्रहरी)ले के गर्नुभयो, बाटोमा जो भेटियो उसलाई कुट्दै हिँड्नुभयो।’

प्रहरीको यस कार्यले वडा अध्यक्ष आफै अचम्ममा परेको बताउँछन्। प्रहरीले कति स्थानीयलाई कुटपिट गरे भन्ने यकिन नभएको उनले बताए।

यता आज पाँच जना संक्रमित थपिएपछि भोलिदेखि सुसूचीत गराउने लकडाउनमा कडाइ गर्ने निर्णय भएको वडा अध्यक्षले जानकारी गराएको नगरपालिकाका नगर प्रमुख दिलीपकुमार अग्रवालले बताए। तर, आजै प्रहरीले बाटोमा बसेका मानिसलाई कुटेको भन्दै एक स्थानीयले आफूलाई जानकारी गराएको उनले बताए।

नगर प्रमुख अग्रवालका अनुसार सडकमा बसेका करिब १२ जनालाई प्रहरीले कुटेको छ।

‘मलाई एक स्थानीय र वडा अध्यक्षले बताएअनुसार १०/१२ जनालाई प्रहरीले कुटेकै हो’, नगर प्रमुख अग्रवालले भने, ‘रंगेलीमा त्यस्तो कडा निर्देशन नदिएको र प्रशासनले कुनै पनि मानिसलाई त्यसरी नछोएको अवस्थामा प्रहरीले कुट्न हुदैन थियो।’

रंगेली नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म १ सय २० पुगेको छ। स्थानीय तह आफैले एक सय बेड क्षमताको आइसोलेसन व्यवस्थापन गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell