काठमाडौं : देशभर कोभिड-१९ को संक्रमण दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्ट सुरु गर्ने तयारी गरेको छ।
पछिल्लो केही साता देखि उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो। संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।
कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै परीक्षण गरिने उनले जानकारी दिए। सेरेलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन्? कस्तो अवस्थमा छ?’ भन्ने कुरा पत्ता लगाउने उनको भनाइ छ।
तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमुना संकलन गरिने उनले जानकारी दिएको नेसनल न्यूज एजेन्सीले जनाएको छ।
‘सर्वे मनगणन्ते रुपमा जहाँ केसहरु धेरै छन त्यहाँबाट लिउँ भन्ने हुँदैन। सिस्टममा हुने प्रकृया हो। त्यसले कहाँ निर पर्छ त भन्ने तरिकाले गर्ने हो। जहाँ निर धेरै केस छन त्यहाँ गरेर यसको महत्व हुँदैन यसलाई सबैको प्रतिनिधित्व हुने गरी गर्नुपर्छ,’ उनले भने।
कालाजार, डेङ्गु र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोभिड-१९ संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको उनले बताए।
९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले बताए। परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ कि छैन भन्ने पत्ता लगाउँने डा. पाण्डेको भनाइ छ।
परीक्षणपछि समुदायमा कोभिड-१९ को संक्रमण छ कि छैन? कहिले देखि नेपालमा आएको होला? कहिलेसम्म रहन्छ? भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले बताए। पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उनको भनाइ छ।
उनले संक्रमणको अवस्था बढ्दै गएको सन्दर्भमा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। रोगसँग डराएर सँधै लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने उनले बताए।
के हो सेरोलोजिकल टेस्ट?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का लागि राष्ट्रिय परीक्षण निर्देशिका २०७७ को तेस्रो संस्करणमा सेरोलोजिकल टेस्टको प्रयोग निगरानी तथा अन्सन्धानका लागि प्रयोग गर्न सकिने उल्लेख छ।
सेरोलोजिक टेस्टले मानिसमा एन्टीबडीको प्रतिक्रियालाई मापन गर्छ। कोभिड-१९ को संक्रमण पछि मानिसको शरीरले केही दिनदेखि केही सातासम्म एन्टीबडी उत्पादन गर्छ। शरीरमा एन्टीबडीको उपस्थितिले व्यक्तिमा जस्तोसुकै होस कोभिड-१९ भाइरसको संक्रमण थियो, चाहे त्यो लक्षण सहितको होस या सामान्य वा गम्भिर प्रकृतिकको लक्षण नै किन नहोस भन्ने जनाउँछ।
जनसंख्यामा एन्टीबडी सेरोपोजेटिभिटीको निगरानीले कति जनसंख्यामा संक्रमण थियो, कस्तो प्रभाव थियो भन्ने संक्रमणको संचयी घटनालाई अनुमान गर्न सहयोग गर्छ।
विश्व स्वास्थ्य संगठनले इपिडिमियोलोजी तथा जनस्वास्थ्य सम्बन्धी अध्ययनमा सेरोलोजीको प्रयोगले भिन्न जनसंख्यामा संक्रमणको उपस्थिति, कति मानिसलाई लक्षण विनाको संक्रमण वा सामान्य लक्षण थियो वा कति नियमित रोग निगरानी भन्दा बाहिर नै थिए भन्ने बुझ्न सहयोग गर्ने जनाएको छ।
त्यस्तै संक्रमित मध्ये कतिमा घातक संक्रमण थियो भन्ने अनुपात तथा भविष्यमा संक्रमणबाट कति मानिसलाई जोगाउन सकिन्छ भन्ने अनुपात पत्ता लगाउनसमेत सेरोलोजिकल टेस्टले बुझ्न सहयोग गर्ने डब्लुएचओले जनाएको छ।