PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

काठमाडौंमा निषेधाज्ञा : केकेमा निषेध, केकेमा छुट?



पहिलोपोस्ट

काठमाडौंमा निषेधाज्ञा : केकेमा निषेध, केकेमा छुट?

काठमाडौं : काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा आज बिहानदेखि नै मानिसको चहलपहल कम छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति केही बाक्लिएको छ। अत्यावश्यका बाहेकका सवारी साधन सडकमा गुडेको विरलै देखिन्छ।

बुधवार रातिदेखि जारी भएको निषेधाज्ञा भदौ १० गतेसम्म लागू हुनेछ। यस अवधिमा अत्यावश्यक बाहेक सर्वसाधरणको आवतजावतलाई पनि निषेध गरिएको छ। घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै भौतिक दूरी समेत कायम गर्नुपर्नेछ। बिना काम घरबाट निस्किए सडकमा खटिएका सुरक्षाकर्मीले कारबाहीसमेत गर्ने अधिकार दिइएको छ।

अत्यावश्यक बाहेकका अन्य सबै सेवा तथा व्यवसाय बन्द हुनेछन्। सार्वजनिक तथा निजी सवारीसाधन बन्द रहनेछन्।

के के निषेध?

सर्वसाधरणको आवतजावतलाई प्रशासनले पूर्ण रोक लगाएको छ। औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु र सेवाको खरिद बाहेक अन्य काममा ननिस्कन आग्रह गरिएको छ। अत्यावश्यक बाहेक अन्य व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ।

अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका अन्य निकायले प्रयोग गर्ने सवारीसाधन उपत्यका प्रवेश गर्न पनि रोक लगाइएको छ। यस्तै, निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ। तर, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन–जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने पाइनेछ।

'स्थानीय प्रशासनले निषेध गरेका कुरा गरेर सवारी चलाएको पाइएमा हामी कारबाही गर्छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

प्रशासनले नित्य पूजाबाहेक अन्य सबै मेला, महोत्सव, जात्रा सञ्चालन लगायतका सम्पूर्ण गतिविधिमा रोक लगाएको छ। सरकारको निर्णयले रोकिएका शैक्षिक संस्था, मनोरञ्जन स्थल लगायतको बन्द यथावत नै रहनेछ। स्थानीय प्रशासनका अनुसार बैंकिङ सेवालगायत विभिन्न निकायले विद्युतीय माध्यम वा न्यूनतम कर्मचारीबाट सुरक्षा मापदण्ड अपनाई आवश्यक सेवा प्रवाह गर्नुपर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell