काठमाडौं : बैंकका कर्मचारी कार्यालय निस्किँदा प्रहरीको होल्डिङ सेन्टरमा फस्न थालेपछि उपत्यका भित्रका सबै बैंकका शाखा आज बन्द भएको छ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुला गर्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले कार्यालय हिँडेका कर्मचारीलाई रोक लगाएका थिए। अनावश्यक रुपमा हिँड्ने मानिसलाई सरह बैंकका कर्मचारीलाई व्यवहार गरिएपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न भनेको हो।
आजबाट सुरु भएको निषेधाज्ञामा अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित संख्यामा खोल्ने विषयमा मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकबीच सहमति भएको थियो।
त्यसबिपरीत स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका छन्।
'यस्तो भएपछि हामी कसरी बैंक खोल्न सक्छौं र? अत्यावश्यकीय नै भएपनि सरकारले सहयोग नगरेपछि खोल्न सकिएन,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, 'रोकिएका साथीहरुलाई प्रहरीले छाड्छु चै भनेको छ।'
प्रहरी र राष्ट्र बैंकसँग कुराकानी भएपछि बैंकहरुले चार कुनामा पर्ने शाखाहरु सीमित संख्यामा खोल्ने निर्णय गरेका थिए। त्यो निर्णय अनुसार बैंकहरुले उपत्यकाभित्र ६ देखि ८ वटा शाखा खोल्ने निर्णय गरेका थिए।
कर्मचारीलाई पक्राउ गरेपछि संघले राष्ट्र बैंकसँग कुराकानी गरेर आज शाखा बन्द गर्ने निर्णय गरेको हो।
'एटीएम चलाउन भनेको छ। एटीएममा पैसा हाल्नका लागि पनि कर्मचारी त जानै पर्छ। आइटी चलाउनै पर्छ,' दाहालले भने, 'क्लियरिङ गर्नै पर्यो होला। अनि कर्मचारीलाई बैंक पुग्न नदिएपछि कसरी खोल्न सकिन्छ?'
कर्मचारी परिचयपत्र देखाउँदा पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
'धेरै बैंक तथा वित्तीय संस्थामा मानिस देखिए। आजलाई कार्डको आधारमा छोडेका छौं। माथिबाट जे निर्णय आउँछ त्यही गर्छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले भने।
अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका अन्य निकायले प्रयोग गर्ने सवारीसाधन उपत्यका प्रवेश गर्न पनि रोक लगाइएको छ। यस्तै, निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।
तर, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन–जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने पाइनेछ।
