अमेजन प्राइम भिडियोले सुशान्त सिंह राजपुतमाथि वेब सिरिज निर्माण गर्ने खबर सार्वजनिक भएको छ। जसमा सुशान्तको भूमिका पाकिस्तानी थिएटर एवं टिभी कलाकार हसन खानले निर्वाह गर्ने बताइएको छ।
हसन खानले बुधवार आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत् आफू सुशान्तमाथि बन्ने वेब सिरिजका लागि अनुबन्धित भएको जानकारी दिएका थिए।
खबरसँगै पाकिस्तानसँगको सम्पूर्ण सांस्कृतिक आदान प्रदानमा लगाइएको प्रतिबन्ध बारे पुन: वहस सुरु भएको छ।
भारतीय फिल्मकर्मी अशोक पण्डितले बलिउड हंगामासँग भनेका छन्,’भारत र पाकिस्तान बीचको व्यवायीक एवं सांस्कृतिक सीमा बन्द रहन्छ। यहाँ कुनै एक कलाकार वा व्यक्तिले सुशान्त सिंहको भूमिका खेल्ने कुरै छैन।‘
सुशान्तको मृत्युले उब्जाएको प्रश्न र आम भारतीयले विषयमाथि देखाएको चासोबीच पाकिस्तानी कलाकार छानिनुले विवाद चर्काउने पण्डितको अनुमान छ।
भारतमा पाकिस्तानी कलाकार प्रतिबन्ध अभियानका अभियन्ता शेखर सुमन भन्छन्,'भारतमा निर्माण हुने सामाग्रीमा पाकिस्तानी कलाकार अनुबन्धित हुनु स्वीकार्य छैन।' आम मानिसले सुशान्तमाथि सिरिज बनाउन दिएको खण्डमा सुशान्तको भूमिकामा भारतीय कलाकार नै रहनु पर्ने उनको तर्क छ।
गत वर्ष पुलवामामा भएको आतंकवादी हमलापछि महाराष्ट्र नवनिर्माण सेनाले संगीत निर्माण कम्पनीहरुलाई पाकिस्तानी कलाकारसँग काम नगर्न निर्देशन दिएको फस्टपोस्टले जनाएको छ।
सन् २०१६ को उरी हमलापछि भारतमा पाकिस्तानी अभिनेता/अभिनेत्रीविरुद्ध पनि अभियान चलेको थियो। करण जोहरको 'ए दिल हे मुश्किल' प्रदर्शनमा झण्डै रोक लगाइएको थियो। कारण – फवाद खानको अभिनय रहनु। जोहरले आममाफी माग्दै आइन्दा पाकिस्तानी कलाकारसँग काम नगर्ने वचन दिएपछि मात्र फिल्म प्रदर्शन सम्भव भयो।
जुन १४ मा सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई प्रहरीले उनको मृत्युलाई आत्महत्या घोषणा गर्यो। तर, सुशान्तको परिवारले भने अभिनेत्री रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्सहानको आरोप लगाएको छ। सर्वोच्च अदालतले यस प्रकरणको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अन्वेषण ब्यूरोलाई दिएको छ।
