काठमाडौं : १ सय २० दिन लामो लकडाउन भोगेका सर्वसाधारणले फेरि निषेधाज्ञा बेहोर्न थालेका छन्। आजबाट एक साताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि पनि कति लम्बिने हो आँकलन गर्न सक्ने अवस्था छैन।
आज पहिलो दिन शहरी क्षेत्रमा चहलपहल एकाएक घट्यो। हिजो साँझ राजधानीका चोक चोकमा देखिएको ट्राफिक जाम आजबाट निस्तेज भएको छ। मानिसका गतिविधि पनि ठप्पप्राय भएको छ। आकस्मिक परिस्थितिबाहेक कसैलाई पनि बाहिर निस्किन निषेध गरिएको छ। यतिसम्म कि मर्निङ वाक र इभिनिङ वाकमा समेत प्रतिवन्ध लगाइएको छ। हिँडेका मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीले होल्डिङ सेन्टमा अड्याएका 'लकडाउन'कालनी दृष्यहरु आजदेखि नै देखिन सुरु भएको छ।
आज तीजको दर खाने दिन अरु समयभन्दा बढी चहल पहल हुन्थ्यो। तर, उपत्यकाका तीन जिल्लामा सुरु भएको निषेधाज्ञाले त्यस्ता गतिविधिलाई पूरै निस्तेज पारेको छ। यी दृष्यहरुले शहरको शून्यतालाई झल्काउँछ। यस्तो शून्यता लगातार १ सय २० दिन भोगेका नेपालीले अब कामना मात्र गर्न सक्छन् - त्यसरी नै लामो नबनोस् यसापालाको नाम फेरिएको 'लकडाउन'।
