PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

के लिपुलेकमा चिनियाँ सैनिक तैनाथ भएको हो?



कमलराज भट्ट

के लिपुलेकमा चिनियाँ सैनिक तैनाथ भएको हो?
फाइल फोटो

काठमाडौं : लिपुलेकको सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाएको समाचार भारतीय मिडियाबाट सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै नेपाल-भारत-चीनको त्रिदेशीय विन्दु लिपुलेक पासमा चिनियाँ सैनिक तैनाथ भएको खबर प्रकाशित गरेका हुन्।

सन् १८१६ को सुगौली सन्धीअनुसार कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मकै भूभाग नेपाली भूमि भए पनि भारतले लामो समयदेखि कब्जा गरेको छ र आफ्नो उत्तराखण्ड राज्यभित्र पर्ने भन्दै दावी गर्दै आएको छ। नेपाली भूमि लिपुलेकमा भारतले मानसरोवर जाने सडक पनि बनाइरहेको छ। जसमा नेपालले आपत्ति जनाएको छ।

भारतीय मिडियाले लिपुलेकलाई लिएर नेपाल-भारतबीच तनावको स्थिति रहेका बेला चीनले आफ्नो सैनिक तैनाथी बढाएको उल्लेख गरेका छन्। समाचारअनुसार दुई साताअघि थप १५० लाइट कम्बाइण्ड आर्म्स ब्रिगेड त्रिदेशीय विन्दु लिपुलेक पासमा तैनाथ भएको छ। चिनियाँ सैनिक सीमाभन्दा करिब १० किलोमिटरको दुरीमा भौतिक संरचनाहरु निर्माण गरेर बसेको छ।

यो समाचार सुरुमा भारतीय स्वतन्त्र समाचार एजेन्सी आइएएनएसले सार्वजनिक गरेको थियो। आइएएनएसबाट आजतक, एबीपी, इण्डिया डटकमलगायत थुप्रै हिन्दी र अंग्रेजी माध्यमका भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।

यसअघि अगस्ट २ मा हिन्दुस्तान टाइम्सले भारतको लिपुलेक पास क्षेत्रमा चीनले सेनाको बटालियन परिचालन गरेको र एक हजार सैनिक एलओसी नजिकै परिचालन गरेको समाचार उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै लेखेको थियो।

पछिल्ला समाचारमा पनि चीनले जुलाई महिनामा एक हजार सैनिक परिचालन गरेको उल्लेख छ। चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)ले लिपुलेक पासमा एक स्थायी चौकी पनि बनाएको र १५ दिनअघि मात्रै २ हजारभन्दा बढी सैनिक सो क्षेत्रमा तैनाथ गरेको उल्लेख छ।

भारतीय मिडियाले लिपुलेकमा चिनियाँ सैनिकको उपस्थितिलाई पूर्वी लद्दाखस्थित गलवान घाटीमा भारत र चीन भएको झडपसँग पनि जोडेका छन्।

समाचारमा चीनले सीमामा वास्तविक नियन्त्रण रेखाका तीन क्षेत्र पश्चिमी (लद्दाख), मध्य (उत्तराखण्ड, हिमाचल) र पूर्वी (सिक्किम, अरुणाचल) मा सैनिक, तोप र बख्तरबन्द गाडीहरु पनि तैनाथ गरेको दावी गरिएको छ।

नेपाली सुरक्षा अधिकारीहरुले भने लिपुलेकमा चिनियाँ सेना तैनाथ भएकोबारे जानकारी नभएको बताएका छन्। गलवान घाटीमा चीनसँगको झडपपछि भारतले लिपुलेकमा उल्लेख्य मात्रामा सुरक्षा फौजको उपस्थिति बढाएको भए पनि चीनतिरको जानकारी नभएको अधिकारीहरु बताउँछन्।

सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमले लिपुलेकमा चिनियाँ उपस्थितिबारे जानकारी नभएको बताए।

‘गलवान घाटी घटनापछि इण्डियनहरुले लिपुलेकमा मुभमेन्ट बढाएका छन्। आर्मी, सीमा सुरक्षा बल, प्रहरीको उल्लेख्य उपस्थिति देखिन्छ,’ एसपी बमले भने, ‘तर, चाइनिज आर्मीको मुभमेन्टबारे केही जानकारी छैन। प्रतिक्रिया स्वरुप लिपुलेकमा चिनियाँ उपस्थिति बढेको हुनसक्छ। शंकाको विषय हो, अहिलेसम्म कुनै खबर आएको छैन।’

उनका अनुसार हिजोमात्रै छाङरुबाट इन्स्पेक्टरको कमाण्डमा सशस्त्रको टोली लिपुलेक नजिकैको नेपाल-चीन एक नम्बर पिल्लरमा गस्ती गरेर फर्किएको छ। त्यो टिमले पनि चिनियाँ मुभमेन्टबारे जानकारी पाएन। तिंकरमा नेपाल प्रहरी छ। प्रहरीलाई पनि केही थाहा छैन।

‘एक नम्बर पिल्लरबाट चीनको क्षेत्र हाइटमा छ। उतापट्टि केही देखिँदैन। हाम्रो नियमित गस्ती गइरहेको छ। आँखा अगाडितिर त्यस्तो केही देखिएको छैन,’ एसपी बमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell