कैलाली : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण गरिएकोमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो।
अछामको मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका १५/१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए।
त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ३३ पुगेको छ।