PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

काठमाडौं महानगरले एक साताभित्र ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने



पहिलोपोस्ट

काठमाडौं महानगरले एक साताभित्र ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण कार्य सुरु गरेको छ।

राजधानीमा बढ्दो कोभिड १९ संक्रमण र तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखेर संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वयमा आगामी १ हप्ताभित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण कार्य अघि बढेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टाइन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको मेयर शाक्यको भनाई छ।

संघीय राजधानीमै संक्रमण नियन्त्रण बाहिर गयो भने यसको असर मुलुकभरी नै पर्ने भन्दै उनले सचेत गराएका छन्।

जनशक्ति, तालिम र स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्त रूपमा व्यवस्था गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उचित परिचालन गरी सेवा विस्तारमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको भन्दै उनले केन्द्र सरकारलाई प्राथमिकतामा राख्न अपिलसमेत गरेका छन्।

महानगरको १० वटा कन्ट्याक्ट ट्रेसिङ टिम, एम्बुलेन्स सेवा पनि

महानगरले १० वटा कन्ट्याक्ट ट्रेसिङ टोली खटाएको छ। टोलीले ३२ वटै वडामा १७ सय ९५ जनाको पीसीआर परीक्षण गरिसकेको छ। ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस इन्फेक्सन स्प्रे गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी जनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ मेयर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली परिचालन गरिएको छ।’

उनले महानगरपालिकासँग प्राविधिक टोलीको अभाव रहेको भन्दै यस्तो अवस्थामा दैनिक २०–३० हजार मानिस दैनिक उपत्यका प्रवेश गर्ने र लुकेर बस्ने हो भने ट्रेसिङ गर्न समस्या हुने भन्दै यस्तो सम्वेदनशील विषयमा उपत्यका प्रवेश गर्ने नागरिक स्वयंलाई सूचना दिन आग्रह गरेका छन्।

मेयर शाक्यले महानगरवासीलाई सकेसम्म अत्यावश्यक बाहेक घरबाट बाहिर ननिसक्न, निस्कनु परे पनि भीडभाडमा नजान, जात्रा–पर्व भीडभाड नगरी विधि मात्रै पूरा गरेर मनाउन, उचित रुपमा मास्क प्रयोग गर्न, समय–समयमा सावुन–पानीले हात धुन र सेनेटाइजर प्रयोग गर्न अपिल गरेका छन्।

मेयर शाक्यका अनुसार महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको छ। ‘त्यस्तो समस्यामा परेका उपत्यकावासीलाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गर्दछौं,’ शाक्यले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell