PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजका दुई ‘कोरोना हिरो’, शव व्यवस्थापन र संक्रमितलाई अस्पताल पुर्‍याउँदै बिताउँछन् दिन



राधेश्याम पटेल

वीरगंजका दुई ‘कोरोना हिरो’, शव व्यवस्थापन र संक्रमितलाई अस्पताल पुर्‍याउँदै बिताउँछन् दिन

वीरगंज : वीरगंजका साथै पर्साका ग्रामीण भेगमा समेत कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएको छ। पछिल्ला केही दिनयता दैनिक संक्रमितको संख्या थपिँदै छ। दैनिकजसो नै संक्रमितको मृत्यु पनि भइरहेको छ। शंकास्पद् बिरामीको संख्या र मृतकको संख्या दुबै बढिरहेको छ।

वीरगंजमा चैत २८ गते पहिलोपटक ३ जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो। भारत तथा तेस्रो मुलुकबट आएकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेको थियो। तर त्यति बेला अधिकांश संक्रमितमा लक्षण देखिएको थिएन। उनीहरु चाँडै निको भएर घर पनि फर्किएका थिए।

तर असार ३० गते भारतको बैंगलोरबाट आएका रौतहटका ३२ वर्षीय पुरुषको उपचारको क्रममा गण्डक कोभिड अस्पतलामा मृत्यु भयो। शंकास्पद विरामीको रुपमा उपचार गर्दागर्दै आकस्मिक कक्षमै मृत्यु भयो। त्यसपछि वीरगंजमा कोरोना महामारीको दोस्रो चरण सुरु भयो।अहिले वीरगंजसँगै पर्साको अन्य क्षेत्रमा संक्रमण फैलिएको छ। महामारीलाई लिएर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबै चिन्तित छन्। कोभिड महामारी बढ्दै जाँदा कतिपय अन्य रोगका बिरामीको पनि उपचार अभावमा ज्यान गइरहेको छ। 

वीरगंजमा कोभिड र अन्य रोगको उपचारका लागि छुट्टाछुट्टै अस्पताल छैनन्। जसकारण अन्य रोगका बिरामीले उपचार पाएका छैनन्। उपचारमात्र हैन समयमा एम्बुलेन्स समेत उपलब्ध हुन सकेको छैन। 

‘संक्रमितको समयमा अस्पतालमा उपचार नहुनु, एम्बुलेन्स समेत नपाउनुले धेरैको मृत्यु भइरहेको छ,’वीरगंज आदर्शनगर ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सचिव मुरली जलानले भने। 

संक्रमित थपिँदा मृतक पनि बढ्दै छन्। स्वास्थ्य सेवामा भने सुधार हुन सकेको छैन। एम्बुलेन्स सेवा समेत विस्तार र व्यवस्थित हुन सकेको छैन।  

तर, पर्साका दुई एम्बुलेन्स चालकले भने ‘कोरोना हिरो’का रुपमा काम गरिरहेका छन्। 

पर्सा,जगरनाथपुर गाउँपालिकाको जगरनाथपुर गाउँ घर भई हाल छपकैयामा बस्ने सोनालाल ड्राइभर भनेर चिनिने ४७ वर्षीय समसुल मियाँ र पर्सा धोबिनीका रेडक्रस वीरगंज शाखाका एम्बुलेन्स चालक ३५ वर्षीय ममताज मियाँ महामारीबीच एम्बुलेन्सको अभाव हुँदा पनि दिनरात खटिएका छन्।

मृतक व्यवस्थापनमा खटिँदै समसुल

समसुल कोभिड १९ संक्रमणबाट मृत्यु हुनेहरुको शव उठाएर गाडीमा हाल्ने,दाहसंस्कार गर्ने स्थानमा लैजाने काममा नेपाली सेनाको टोलीसँग खटिएका छन्। यस्तै, ममताज घर-घरबाट कोरोना पोजेटिभ पुष्टि भएका संक्रमितहरुलाई कोभिड अस्पतात वा सेमिआइसोलेसनमा पुर्‍याउने काम गर्दै आएका छन्।

२० वर्षदेखि शवबाहनकै रुपमा आफनो एम्बुलेन्स चलाउँदै आएको बताउने समसुल भन्छन्,‘चार महिनादेखि २२ वटा शव व्यवस्थापन गर्ने काममा खटिएँ।’

पर्साका प्रमुख जिल्ला अधिकारी, एसपी र वीरगंज महानगरका मेयरको पहलमा गत साउन १ गतेदेखि वीरगंज महानगरको एम्बुलेन्स चालकको रुपमा उनले सेवामा लगाएकाे छ। 

समसुलले शव व्यवस्थापनमा सुरुदेखि नेपाली सेनाले तोकेको मापदण्डमा खटिएकाले सुरक्षित महसुस गरेको बताए।

‘सबैले भन्छन्,शवबाट गाउँ बस्तीमा कोरोना भाइरस फैलिन्छ,तर डाक्टरहरुले शवबाट भाइरस सर्ने सम्भावना एकदम न्यून रहेको बताएका छन्’, उनले भने।

एउटा शव अन्त्येष्टि गरेबापत् थप १० हजार भत्ता पनि पाउने व्यवस्था सुनेको पनि उनले बताए। 

शव जलाउने र गाड्ने काममा खटिए पनि उनी परिवारसँग छपकैयामै बस्दै आएका छन्।  

संक्रमितलाई अस्पताल पुर्‍याउँदै बित्छ दिन

रेडक्रसका एम्बुलेन्स चालक ममताजको दैनिकी भने गाउँगाउँबाट संक्रमितलाई अस्पताल र आइसोलेसन सेन्टरसम्म पुर्‍याउँदै बित्ने गरेको छ।

‘जिल्ला प्रहरी कार्यालयबाट कोभिड हेर्ने इन्सपेक्टरले बिहानै फोन गरेर दिनभरको ड्युटी सम्झाउनुहुन्छ। त्यसै अनुरुप काममा निस्किन्छौँ,’उनले भने।

दिनभर संक्रमितलाई ओसार्दै काममा खटिने उनी बजार क्षेत्रमा नै खाने र बस्ने गर्छन्। उनी रातमा पनि निकै कम आरामको समय पाउने बताउँछन्।  

संक्रमितलाई ल्याउने क्रममा एकदिन बिना एसीको गाडीमा पीपीई धेरै बेर लगाउँदा उनी बेहोस समेत हुन पुगेका थिए। 

घटनाबारे भन्छन्, ‘जेठको गर्मी समयमा पीपीई लगाएर दिनभर करिब ६ घण्टासम्म ८० जना संक्रमितलाई घरबाट अस्पताल पुर्‍याएँ। तर साँझ कमजोरी महसुस गरेँ र बेहोस नै भएँ। केहीबेर जीवनजल पानी खाएर आराम गरेँ। ठिक भयो।’

संक्रमितको मुभमेन्टमा प्रत्यक्ष संलग्न उनले दुई पटक पीसीआर परिक्षण गराइसके। 

हिम्मत बढाऔँ

ममताज यो महामारीबो बेलामा सबै एम्बुलेन्स चालकको हिम्मत बढाउन जरुरी रहेको बताउँछन्।

‘वीरगंजमा पहिले डेढ सय एम्बुलेन्स चालक थिए। अहिले सबै जना सम्पर्कमा छैनन्। 'यो समय आफ्नो हतियारसहित युद्ध लड्ने बेला हो। घरमा लुकेर वीरगंज र पर्सालाई कसरी बचाउन सकिन्छ?’ प्रश्न गर्छन्।

प्रशासन एम्बुलेन्स चालकको लागि पीपीईका साथै अन्य आवश्यक सामाग्रीको जोहो गर्न तयार रहेको भन्दै उनले सबै चालकहरुले मन बलियो बनाएर बिरामीलाई सेवा दिनुपर्ने बताए। आफ्नो परिवारबाट टाढा बसेर सुरक्षित साथ काम गरेको अनुभव सुनाउँदै उनले सबैलाई महामारीको समयमा हिम्मत जुटाउन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell