PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पारिश्रमिकका लागि क्यानले आइसीसीलाई पठायो खेलाडीको सूची, खेलाडीको बिमा पनि गराउने



पहिलोपोस्ट

पारिश्रमिकका लागि क्यानले आइसीसीलाई पठायो खेलाडीको सूची, खेलाडीको बिमा पनि गराउने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको पारिश्रमिक निकासाका लागि क्रिकेटरको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई पठाएको छ। आइसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो। सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आइसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले तलवको प्रक्रिया पहिल्यैबाट सुरु गरिएको र आइसिसीले सूचि मागपछि पठाएको जानकारी दिए।

‘सन् २०१९ को उनीहरुको कन्ट्राक्ट छ नि त्यो अनुसार आइसीसीमा सूची पठाइसकेको छ। प्रकृया त पहिल्यैबाट सुरु गरेका थियौं’, उनले भने, ‘ग्रेडिङ छुट्याउने काम पनि २०१९ को तलब आएपछि भइहाल्छ।’

यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आइसीसीले नै उपलब्ध गराउँदै आएको थियो।

२०१८ मा आइसीसीले दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो। त्यसयता खेलाडीले आफ्नो पारिश्रमिकविहीन छन्। क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन श्रेणीमा विभाजन गरेको थियो। त्यही अनुसार नै २१ खेलाडीका लागि आइसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो।

सन् २०१९ मा आइसीसीले २२ खेलाडी र एक भिडियो एनालिस्टका लागि पारिश्रमिक पठाउन लागेको प्याकुरेलले बताए। क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो।

सम्झौताअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले जनही ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीमा रहेका खेलाडीले २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले १५ हजार पारिश्रमिक पाउनेछन्। क्यानका अनुसार ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन्।

यस्तै बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलिप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन्। भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको छ। यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ।

खेलाडीको बिमा पनि गरिने

क्यानका अध्यक्ष चन्दले खेलाडीहरुको कोरोना बिमा पनि गराउने जानकारी दिए। क्यानले आन्तरिक श्रोतबाट खेलाडीको बिमा गराउने छ।

‘बिमा आज दर्ता गराएको थियो। खेलाडी, अफिस स्टाफ र अनि ग्राउन्ड स्टाफको हो। आन्तरिक स्रोतबाट गर्ने हो। बिमा एजेन्सीले क्रिकेट खेलाडीलाई भनेर केही छुट गराएको होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell