PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुई हजार बढी संक्रमित हुने काठमाडौं एकमात्र जिल्ला, निषेधाज्ञाको पहिलो दिन उपत्यकामा थपिए २०० संक्रमित



सहयोग रञ्जित

दुई हजार बढी संक्रमित हुने काठमाडौं एकमात्र जिल्ला, निषेधाज्ञाको पहिलो दिन उपत्यकामा थपिए २०० संक्रमित

काठमाडौँ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू गरियो। कोभिड १९ संक्रमण समुदायमा फैलिन सक्ने अवस्थालाई नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।

बिहीबार बिहानैदेखि सुरक्षाकर्मी निषेधाज्ञा पालना गराउन सडकमा ओर्लिए। ‘लकडाउन’भन्दा कडा भनिएको निषेधाज्ञामा अत्यावश्यकबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरिएको छ।

निषेधाज्ञाको पहिलो दिन बिहानै केही संख्यामा मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लियो। निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनीहरुलाई सडक छेउमा नै बनाइएको होल्डिङ सेन्टरमा राखिएको थियो। केही घण्टा होल्डिङ सेन्टरमा राखेर उनीहरुलाई छोडिएको थियो। यस्तै उपत्यकामा सवारीसाधन चेकजाँचमा पनि कडाई गरिएको थियो। अत्यावश्यक काममा बाहेक अन्य प्रायोजनका लागि बाहिर निस्किएका गाडीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रशासनले अत्यावश्यक सामाग्रीको ढुवानी र सेवा दिने कार्यालयका कर्मचारी र सवारीसाधन सञ्चालन गर्न पाउने बताएको थियो। तर, प्रहरीले माथिको आदेश नभएको भन्दै बैंकका कर्मचारीदेखि सिइओसम्मलाई बाटैमा रोकेको थियो। साथै केही अन्य अत्यावश्यक सेवा दिने कार्यालयका कर्मचारी र गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लियो।

प्रशासनले खाद्यान्न पसल सञ्चालन गर्न छुट रहेको बताए पनि प्रहरीले सबै प्रकारका पसल बन्द गरायो। बिहान केही समय पसल खोले पनि अरु समयमा पसल खोल्न दिइएन। खाद्यान्न पसल, दूध ढुवानी, डेरी सञ्चालन गर्दै आइरहेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो। साँझ उनीहरुलाई  छोडियो।

प्रशासनले अत्यावश्यक सेवा सञ्चालन गर्न भने पनि प्रहरीले कडाइ गरेको भन्दै प्रशासनले यसबारेमा थप प्रस्ट पार्नुपर्ने माग उठेको छ।

थपिए २०० संक्रमित

निषेधाज्ञा लागू भएको दिन उपत्यकामा २०० नयाँ संक्रमित थपिए। काठमाडौँमा सबैभन्दा बढी १७४ जना संक्रमित थपिए। यस्तै, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भयो। यस्तै, कोभिड १९ संक्रमणका कारण काठमाडौँको भीमसेनस्थान बस्ने एक व्यक्तिको मृत्यु भयो।

बिहीबारसम्म उपत्यकामा संक्रमितको संख्या २ हजार ६९९ पुगेको छ। यीमध्ये करिब दुई हजार एक्टिभ संक्रमित रहेका छन् उपत्यकामा ।

पछिल्लोपटक काठमाडौँ जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ। ७७ जिल्लामध्ये काठमाडौँमा मात्रै २ हजारभन्दा बढी संक्रमित पहिचान भएका छन्।

बिहीबारसम्म काठमाडौँमा २ हजार १५२ संक्रमित रहेका छन्। त्यसपछि सबैभन्दा धेरै संक्रमित ललितपुरमा देखिएको छ। ललितपुरमा ३६८ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा भने १७९ जनामा संक्रमण देखिएको छ।

संक्रमितको संख्या बढ्दै गएकै कारण प्रशासनले निषेधाज्ञा लागू गरेको हो। बजारमा भीड अनियन्त्रित रुपमा बढ्दै गएको र बाहिर जिल्ला र भारतबाट समेत मानिस उपत्यका प्रवेश गर्ने क्रम बढेको थियो। त्यसैले सतर्कता अपनाउँदै उपत्यकाभर नै निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा अवधिभर सबैलाई घरभित्रै बस्न प्रशासनले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell