PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

स्वदेश फर्कन चाहनेलाई नियमित तालिका बनाएर ल्याइने, निजी अस्पतालको कोरोना उपचार खर्च पनि सरकारले तिर्ने



पहिलोपोस्ट

स्वदेश फर्कन चाहनेलाई नियमित तालिका बनाएर ल्याइने, निजी अस्पतालको कोरोना उपचार खर्च पनि सरकारले तिर्ने
फाइल फोटो

काठमाडौँः सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई स्वदेश ल्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले नियमित तालिका बनाएर स्वदेश फर्काउनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समय तालिका देश निश्चित गर्नेछ। सम्भव भएसम्म नियमित उडानबाटै स्वदेश फर्कने व्यवस्था मिलाउने निर्णय भएको एक मन्त्रीले बताए। 

स्वदेश फर्कने नागरिकलाई मात्र ल्याउनेगरी मन्त्रालयले नियमित तालिका तयार पार्नेछ। हालसम्म आउन चाहेका देश तथा अन्य देशका दूतावाससँग समन्वय गरेर तालिका बन्नेछ। 

यस्तै, बैठकले स्वदेश फर्कने नागरिकका लागि एकीकृत क्वारेन्टाइन निर्माणको निर्णय पनि गरेको छ। उक्त कार्यको संयोजन गृह मन्त्रालयले गर्नेछ। उपत्यकाका होटलहरुलाई नै क्वारेन्टाइनमा परिणत गर्ने सीसीएमसीको सुझाव कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।  

निर्णय अनुसार सरकारले क्वारेन्टाइन बनाइएका होटलको सूची प्रकाशित गर्नेछ। स्वदेश फर्कन चाहनेले तोकिएको होटल बुकिङ गर्नुपर्नेछ। स्वदेश फर्कनका लागि स्वास्थ्य परीक्षण प्रतिवेदन अनिवार्य गरिएको छ। होटलको खर्च समेत व्यक्ति स्वयमले तिर्नुपर्नेछ। 

यसअघि सीसीएमलेले बिना कारण चाटर्ड उडान रोकेकोमा रक्षामन्त्री ईश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच विवाद भएको थियो। 

बैठकले विभिन्न नाकाबाट स्थलगत रुपमा स्वदेश फर्किने नागरिक पनि तोकिएको स्थानीय क्वारेन्टाइनमा सात दिन अनिवार्य रुपमा बस्नुपर्ने निर्णय गरेको छ। 

बैठकले कोरोना संक्रमितको उपचारमा लाग्ने निजी अस्पतालको शुल्क पनि सरकारले नै शोधभर्ना गर्ने निर्णय गरेको छ। 

बैठकमा उपत्यकाका जारी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने राय सबै मन्त्रीहरुको छ। केही मन्त्रीले लकडाउनमै जानुपर्ने समेत सुझाव दिएका छन्। 

बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा बाढी पहिरोमा परेर ज्यान गुमाउने नागरिकप्रति शोक व्यक्त समेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell