क्यारेबियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको जमैका दोस्रो खेलमा ७ विकेटले पराजय भोगेको हो।
टस हारेर ब्याटिङको निम्ता पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो।
जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५८ रन बनाउँदा आन्द्रे रसेलले २५, आशिफ अलिले २२ रन बनाए। त्यस्तै रामल लेविस १५ र सन्दीप लामिछाने ० रनमा अभिजित रहे। जमैका लाई औषत स्कोरमा समेट्न अलि खान र जयडेन सिल्सले समान २/२ विकेटको महत्वपूर्ण योगदान दिए।
जवाफी ब्याटिङमा उत्रिएको नाइटराइडर्सले १८.१ ओभरमा ३ विकेट गुमाउँदै १३६ रनको चुनौती पार गर्यो। जसका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन बनाएका थिए। क्रिजमा जमिरहेका उनलाई सन्दीपले पभेलियन फर्काएका थिए। सन्दीपले ३० रन दिएर १ विकेट लिएका हुन्। त्यस्तै कोलिन मुन्द्रोले अभिजित ४९ रन र डरेन ब्राभोले १४ रन जोडे।
जमैकाले अर्को खेल ग्युनिया अमेजन वारियर्ससँग भोली खेल्ने छ।
