PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

संक्रमण देखिएको र जोखिमयुक्त ठाउँमा डिसइन्फेक्टेन्ट छर्किँदै काठमाडौं महानगर



पहिलोपोस्ट

संक्रमण देखिएको र जोखिमयुक्त ठाउँमा डिसइन्फेक्टेन्ट छर्किँदै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक (डिसइन्फेक्टेन्ट) छर्किन थालेको छ। कोभिड–१९ को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा डिसइन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको महानगरले जनाएको छ।

महानगरले कोभिड–१९ को महामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डिसइन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिँदै आएको थियो। संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिँदै दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गरिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि महानगरले ३२ वटै वडामा डिसइन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्बन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ।’ गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डिसइन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाई छ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई डिसइन्फेक्टेन्ट गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिँदै आएको बताए। ‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘एकसरो महानगरका ३२ वटै वडामा पुगिसकेका छौं। वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं।’

उनले निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिए। ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ। यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं,’ सापकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell