काठमाडौं : कर्णाली प्रदेशमा थप ६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा दुई हजार २२५ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल प्रयोगशालामा भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा दैलेख गुराँसका २५ वर्षका एक युवक, कालिकोटका एक र बाँके खजुराका कालिकोटमा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये ५२ जना जुम्लाका मात्र छन्। ८ वर्षकी बालिकासहित १५ महिला र ३७ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै कालिकोट तिलागुफाका एक पुरुष र तिलागुफाबाट स्वाब संकलन गरिएकी ताप्लेजुङकी एक महिला र बैतडीका एक पुरुष रहेका छन्।
त्यस्तै हिमा गाउँपालिका जुम्लाबाट स्वाब संकलन गरिएका बर्दिया ठाकुरबाबाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै रुकुम पश्चिम मुसिकोट नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ। चौरजहारी प्रयोगशाला पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
हालसम्म प्रदेशमा संक्रमण पुष्टि भएका मध्ये एक हजार ९४५ जना निको भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६ रहेको छ।
हाल कर्णालीमा २७४ एक्टिभ केस रहेका छन्। जसमध्ये २३८ जना विभिन्न आइसोलेसनमा रहेको र बाँकी होम आइसोलेसन र आइसोलेसन स्नेटरमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा संक्रमण पुष्टि भएका मध्ये ८१ जना अन्य प्रदेशका रहेका छन्। उनीहरु संक्रमण पुष्टि हुँदा कर्णालीमै कार्यरत थिए।
