PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

दुर्गेशले आफैंलाई भने ‘आलु गायक’, ल्याए आफ्नै चरित्र झल्किने गीत



पहिलोपोस्ट

दुर्गेशले आफैंलाई भने ‘आलु गायक’, ल्याए आफ्नै चरित्र झल्किने गीत

गायक/मोडल दुर्गेश थापाले आफ्नै चरित्र झल्किने गीत ल्याएका छन्। आफूलाई संगीत क्षेत्रको ज्ञान नभएको ‘आलु गायक’ भनेर स्वीकार गर्दै दुर्गेशले यहिँ चरित्र झल्किने ‘आलुजस्तो गायक’ बोलको गीत ल्याएका छन्।

केही साताअघि प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दुर्गेशले नारायण गोपालको गीत भनेर भक्तराजको गीत गाएका थिए, त्यो पनि सुरताल विगारेर। त्यसैगरी रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए। यहिँबाट उनको आलोचना सुरु भयो। संगीतका दिग्गजहरु अञ्जु पन्त, रामकृष्ण ढकाल, यम बरालहरुले दुर्गेशले सुर ताल सिक्नुपर्ने र संगीतको सामान्य ज्ञान राख्नुपर्ने सुझाव दिए।

आलोचना र दिग्गजको सुझावले दुर्गेशलाई छोयो। यिनै प्रसंग समेटेर उनले बिहीवार ‘आलुजस्तो गायक’ बोलको गीतको भिडियो सार्वजनिक गरे। भिडियोमा दुर्गेशसँगै पल शाह, पुष्प खड्का, सारिका केसीको अभिनय रहेको छ। शब्द र संगीत बसन्त थापाको रहेको छ।

गीत सार्वजनिक गर्दै दुर्गेशले फेसबुकमा आफूलाई ‘आलु गायक’ भनेर चिनाए।

उनले लेखे:

नमस्कार यो आलु गायकको तर्फबाट,

अध्ययन र सिकाईका लागि दाईले धेरै नै फोर्स गर्नुहुन्थ्यो। तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो। कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटी थियो। लोक गीत गाएं, राम्रो भएन। मोडल गरे ठिकै। तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो। म खासै खुसी हुन सकिन। जीवनमा धेरै ठाउँमा पुगे। तर पैसा र प्रतिष्ठाका लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाएँ। म आफैले एउटा संकल्प गरें कि गीतै गाउँछु कि पेशा परिवर्तन गर्छु। गीत गाएँ तर कुन विधाको कस्तो भन्ने थाहा भएन। गीत चाहिँ "मुद्दा हाल्दिन्छु" न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगीत दमदार। तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगें। त्यो भन्दा पनि जीवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन। न त अभिनय नै सिकें न नृत्य न संगीत नै। जे जति गरे अनुभवको आधारमा गरें। सबैले माया दिनु भो, हौसला दिनु भो। बस यत्ति। तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि। मलाई संगीत नजानेकोमा पछुतो छ पनि छैन पनि। तर मैले आफूलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु। आलु जस्तो गायकमा त्यस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell