कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ९२ संक्रमित थरिएका हुन्।
धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ। कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन्।
अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।
उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन्। अछामको साँफेबगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।