अमेरिकी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका जोय वाइडेनले डोनाल्ड ट्रम्पविरुद्ध मन्तव्य दिएका छन्। उनले ट्रम्पले देशलाई लामो समय अध्यारोमा राखेको बताएका हुन्।
उपराष्ट्रपति रहिसकेका वाइडेनले आफ्ना प्रतिद्वन्दी ट्रम्पलाई आरोप लगाउँदै भने,’उनले देशमा धेरै क्रोध, भय र विभाजन फैलाए।‘
७७ वर्षीय वाइडेनले शुक्रवार दिएको भाषणलाई उनको पाँच दशक लामो राजनीतिक करियरको ‘शिखर’ भनिएको छ।
बीबीसीका अनुसार आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि हालसम्म बनाइएको ओपीनियन पोल्समा ७४ वर्षीय डोनाल्ड ट्रम्पभन्दा वाइडेन अगाडि छन्।
जोयले विलिंगटनमा आयोजित कार्यक्रममा भने,’तपाईंहरूले मलाई राष्ट्रपति पदका लागि चयन गर्नु भयो भने म केही गरेर देखाउने वचन दिन्छु। म देशमा छाएको अध्यारोबीच प्रकाश बन्ने कोशिश गर्छु। यो हामी सबैको लागि एक साथ उभिने र कुनै गल्ती नगर्ने अवसर हो।‘
उनले आफू डरविरुद्धको आशा, कल्पनाविरुद्ध तथ्य र विशेषाधिकारमाथि निष्पक्षताको पक्षमा रहेको बताए। र, आम मानिसले उक्त कुरा बुझेर आफूलाई जिताउने विश्वास व्यक्त गरे। भने,’हामी क्रोधले भरिएको बाटो पनि रोज्न सक्छौं जहाँ आशा निकै कम छ। विभाजन अधिक छ। अन्धकार र सन्देह धेरै छ।‘
यही चुनावले अमेरिकाको भविष्य तय गर्ने उनको दावी छ। ट्रप्पलाई नै अर्को ४ वर्ष दिँदा गल्ती हुने बताए। ट्रम्पले जिम्मेवारी ननिभाउने साथै आफ्नो कमजोरीको दोष अरुलाई लगाउने उनको आरोप छ।
वाइडेनको मन्तव्यसँगै डेमोक्रेटिक पार्टीको ४ दिन लामो सम्मेलन समापन भयो।
