PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

५० जिल्लाका ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?



पहिलोपोस्ट

५० जिल्लाका ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण मुक्त भइसकेको मनाङमा पुन: संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा १८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

१३ हजार ५ सय ७९ जनामा गरिएको पीसीआर परीक्षणमा ८३८ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। यससँगै जम्मा संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढी काठमाडौंका १४२ जना रहेका छन्। त्यस्तै, कैलालीमा ८५ जनामा संक्रमण पुष्टि भएको छ। पर्सामा ८० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

सबैभन्दा बढी वाग्मती प्रदेशमा २५० जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ मा १७९ र सुदूरपश्चिम प्रदेशमा १७६ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ मा ८९, प्रदेश ५ मा ५९, कर्णालीमा ५८ र गण्डकीमा २७ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको निमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतलमले हालसम्म नेपालमा संक्रिय संक्रमित १२ हजार १३२ जना रहेको जानकारी दिए। जसमध्ये ३५८६ होम आइसोलेसनमा रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५० संक्रमित डिस्चार्ज भइसकेका छन्। हालसम्म कुल संक्रमितमध्ये १८ हजार २१४ जना निको भइसकेका छन्।

शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको छ। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो। यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।

हाल उपचारका क्रममा रहेका १३३ जनाको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ। जसमध्ये वाग्मती प्रदेशमा मात्र १५ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।

एक्टिभ केसमध्ये प्रदेश १ मा १६, प्रदेश २ मा ४६, वाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा  ६ र प्रदेश ५ मा १३ जनाको उपचार आइसीयूमा भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell