कैलाली : सुदूरपश्चिमको प्रमुख नाकाका रूपमा चिनिएको कैलालीको गौरीफन्टा नाकाबाट गत जेठ यतामात्रै एक लाख ५५ हजार नेपाली स्वदेश फर्किएका छन्। त्यसमा अधिकांश सुदूरपश्चिमकै हुन्। जेठ र असारमा लकडाउनको सास्ती खेपेका उनीहरूले साउनमा लकडाउन खुकुलो भएपछि केही राहत महसुस गरे।
साउनमा स्थानीय तहले क्वोरेन्टाइनमा समेत नराखेर घरमै पठाउन थालेपछि भारतबाट आउनेहरू होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पुग्ने गरेका थिए। तर भदौ लागेपछि फेरि उनीहरूको सास्ती सुरु भएको छ। कैलालीमा बिहीवार रातिबाट निषेधाज्ञा लागू भएपछि गौरिफन्टा नाकाबाट आउनेहरू फेरि नाकामै समस्यामा पर्न थालेका छन्। भारतको राजस्थानबाट आएकी अछामको रामारोशन गाउँपालिकाको सुतारकी रितु भण्डारी शुक्रवार बिहानैदेखि अछाम जाने बसको खोजीमा थिइन्। तर निषेधाज्ञाका कारण बस पाउन सहज भएन उनलाई।
डोटीको शिखर नगरपालिकाका नरेन्द्र बलायरको समस्या पनि उस्तै। ५ सय भाडा लाग्ने ठाउँमा ६ हजार तिर्न तयार हुँदासमेत जाने साधन नपाएको उनको गुनासो छ। घर जान भन्दै शुक्रवार दिउँसोसम्म गौरीफन्टा नाकाबाट ३ सय एक जना स्वदेश भित्रिएका छन्।