PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

निषेधाज्ञामा नरोकिएको तीज, टोलटोलमा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’

निषेधाज्ञामा नरोकिएको तीज, टोलटोलमा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज तीज। सदाझै महिलाहरुले यसपटक एकआपसमा खुशीयाली साट्दै नाच्दै गाउँदै यो पर्व मनाउन पाएनन्। कारण बन्यो- कोरोना भाइरस।

देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कयौं जिल्लाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारले निषेधाज्ञादेखि लकडाउन लागू गरेको छ।  उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि तीनवटै जिल्लामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ। जसकारण उपत्यकामा पनि यसपटकको तीज प्रभावित बन्यो।

बिहानैदेखि घुँइचो लाग्ने शिवालयहरु सुनासान देखिए। बिहानै केही मानिसहरु पशुपति, गोकर्णेश्वर, डोलेश्वर लगायत आफ्नो नजिकका शिवालय पुगेका थिए। 

यद्यपि, काठमाडौंको केही स्थानमा भने तीजको रौनकलाई निषेधाज्ञाले रोकेन। महिलाहरु टोलटोलमा जम्मा भएर तीजको भाकामा नृत्य गरिरहेका थिए।

बानेश्वर र कालोपुल क्षेत्रमा घर र टोलका महिलाहरु मिलेर एकआपसमा तीजको शुभकामना आदानप्रदान गरिरहेको देखियो। धेरै जसो स्थानमा यसपटक तीजमा चर्चित बनेको गीत ‘सोचे झै जिन्दगी रैनछ’ बजेको र त्यसमा नृत्य गरिरहेको दृश्य देखिन्थ्यो। 

महिलाहरुले यसपटकको तीज नसोचेको तरिकाले मनाउन परेपनि अर्को वर्ष महामारी अन्त्य भइ पहिला जस्तै तीज मनाउन पाउने आशा व्यक्त गरे। निषेधाज्ञाका कारण केही क्षेत्रमा मात्रै यस्तो दृश्य देखियो। धेरै महिलाहरुले भने घरभित्र नै आफ्ना साथी र परिवारबीच तीज मनाए।



ट्रेन्डिङ पोस्ट

Ncell