इजिप्टकी सोसल मिडिया इन्फ्लूयन्सर मवादा अल अदमविरुद्ध दुई वर्षका लागि जेल सजाय पाइन्। २२ वर्षीया उनलाई इजिप्ट (मिस्र)को पारिवारिक मूल्य मान्यता उलङ्घन गरेको आरोपमा सजाय दिइएको हो।
टिकटक र इन्स्टाग्राममा आधुनिक गीतमा फेसनेबल लुगा लगाएर भिडियो बनाएको र पोस्ट गर्नुलाई उनको गल्ती ठहराइयो। उनलाई अभद्र घोषित गरिएको थियो जसका कारण गत वर्ष मेमा उनी गिरफ्तार भइन्।
अदमकी दिदी रहमा भन्छिन्,’हामी त छक्क पर्यौं। उसले केही गलत गरेकी थिइन। मेरी बहिनी अपराधी होइन।‘ उनका अनुसार बहिनी गिरफ्तार भएदेखि उनीहरूकी आमा बिरलै ओच्छ्यानबाट उठ्न सक्छिन्।
मवादा अल अदम विभिन्न फेसन ब्रान्डका लागि मोडलिङ गर्थिन्।
सजाय पाउने मवादा एक्ली युवती भने होइनन्। उनीसँगै अन्य ४ युवती सजाय भोगिरहेका छन्। उनीहरू सबैको गल्ती टिकटकमा भिडियो बनाउनु। उनीहरूले जेल सजायसँगै २० हजार डलर जरिवाना पनि तिर्नु पर्ने बीबीसी हिन्दीले जनाएको छ।
एनजीओ एमनेस्टी इन्टरनेशनलका अनुसार अभियोजन अधिकारीहरूले मवादाका १७ वटा तस्विर जम्मा गरेर उनलाई अभद्र प्रमाणित गरेका थिए। ती फोटो मवादाले दुई वर्ष अघि चोरी भएको फोनबाट लिक भएको हो।
आगामी अपिलमा आफ्नो बहिनीको सजाय घट्ने अपेक्षा राखेकी छिन् रहमाले।
मवादाका वकील अहमद बहकिरी भन्छन्,’उनले केही भिडियोमा हाम्रो सामाजिक नियम र परम्पराकोविरुद्ध प्रस्तुति दिएकी थिइन्। तर जेल समस्याको समाधान होइन। त्यहाँ अपराधी पैदा हुन्छन्।‘
मिस्र बहुसंख्यक मुस्लिम भएको देश हो। त्यहाँको समाज रूढिवादी छ। इजिप्टका केही मानिस टिकटक भिडियो बनाउनुलाई अश्लिल कार्य मान्छन्।
हाल त्यहाँका मानव अधिकारकर्मीहरू सजाय भोगिरहेका युवतीहरूको रिहाइको माग गरिरहेका छन्। उनीहरू भन्छन्,’उनीहरू पक्राउ पर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुनु हो। यसरी त सरकार डिजिटल प्लेटफर्फमलाई आफ्नो नियन्त्रणमा राख्नेछ।‘
सन् २०१४ मा जब सेना समर्थित राष्ट्रपति अब्दल फतह सीसी सत्तामा आए तबदेखि त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय मानवाधिकार संगठनहरूले राज्यको केही नीतिको आलोचना गर्दै आएका छन्।
इजिप्टियन कमीसन फर राइट्स एण्ड फ्रिडम्सका निर्देशक मोहम्मद लोट्फी भन्छन्,’महिलालाई सोसल मिडियामा सरकारको निर्देशन बमोजिम चलाउने अनुमति छ। यो उनीहरूको स्वतन्त्रता विरोधी नीति हो।‘ उनले यस नीतिले लैङ्गिक भेदभावको उदाहरण भएको बताए।
मवादाको टिकटकमा ३० लाख बढी फलोअर्स छन् भने इन्स्टाग्राममा उनलाई १६ लाखले पच्छ्याउँछन्।
