PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगर महानगरपालिकासहित मोरङका ४ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकासहित मोरङका ४ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी

विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रसहित मोरङका अन्य तीन स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार अपराह्न सूचना प्रकाशित गर्दै राति १२ बजेदेखि ५ दिनको निषेधाज्ञा जारी गरेको हो।

जसअनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिकाका वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म, र रङ्गेली नगरपालिकाका ४ देखि ७ सम्मका वडामा निषेधाज्ञा जारी गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार शुक्रबार जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञाको निर्णय गरिएको हो।

कोरोना भाइरसको बढ्दो  सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न पाँच दिन मानवीय गतिविधि कम गर्नुपर्ने भएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रजिअ निरौलाले बताए।

बैठकले शुक्रबार मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्म पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

प्रजिअ निरौलाले भने, ‘विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको छ। तर पनि मानिसको मुभमेन्टमा थप कमी ल्याउनु पर्ने देखिएको छ। त्यसैले निषेधाज्ञा जारी गरिएको हो।’

लकडाउनका अवस्थामा पनि हिँडडुल नियन्त्रित अवस्थामा रहेको उल्लेख गर्दै निरौलाले निषेधाज्ञाका समयमा पाँच जनाभन्दा बढी हिँड्न नदिइने बताए। साथै राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुल पूर्णतः निषेध गरिएको जानकारी दिए।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सात दिन निषेधाज्ञा गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए। तर छलफलले पाँच दिनमात्र गरेको छ।

प्रजिअका अनुसार निषेधाज्ञाका अवधिमा बिहान ६ देखि ९ बजेसम्म तरकारी र फलफूलका पसल खोल्न दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell