PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

झापाका चार स्थानीय तहका १५ वडामा निषेधाज्ञा जारी



रासस

झापाका चार स्थानीय तहका १५ वडामा निषेधाज्ञा जारी

झापा : समुदायस्तरमा फैलिन थालेको कोभिड-१९ को संक्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जिप, टेम्पो, माइक्रो लगायतका यातायातका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ। सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ। 

बुद्धशान्ति गाउँपालिकाको सबै वडामा भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ। कमल गाउँपालिकाको वडा नम्बर ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्ग र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको छ।

गौरीगञ्जको वडा नम्बर ३, ४, ५ र ६ मा अर्को सूचना नभइञ्जेलसम्मलाई निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा क्षेत्रको पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

झापामा बिहीवारसम्ममा कोभिड-१९ का ४७५ जना संक्रमित फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईले बताए। दमक र मेचीनगरमा समुदायस्तरमा फैलिएको संक्रमण नियन्त्रणका लागि हाल प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell