PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेमा मोटरसाइकल बढी



रासस

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेमा मोटरसाइकल बढी

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले निषेधाज्ञा उल्लंघन गरेको पाइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन्। त्यस्तै, ३५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लंघन गरेको पाइएको छ।

पहिलो दिन बिहीवार मात्रै दुई हजार ९०२ सवारी साधन आदेशको उल्लंघन गर्दै गुडेको थियो। आज दोस्रो दिन आदेश उल्लंघन गर्ने सवारी साधनको संख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। उनका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लंघन गरेको पाइएको  छ। त्यसमा ५३० मोटरसाइकल छन्।

‘पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ’, ढकालले भने, ‘त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो।’

उनले पहिलो दिनभन्दा आज भने शहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारबाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ। यस्तै संक्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै, यो ऐनअन्तर्गत काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको छ। यस्तै, ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन्। उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि उक्त आदेश जारी गरिएको छ। पछिल्लो समय उपत्यका कोरोनाको उच्च जोखिममा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell