PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

सेनाले संगठनभित्रका संक्रमित जनशक्तिका लागि ब्यारेकभित्रै बनायो आइसोलेसन



रासस

सेनाले संगठनभित्रका संक्रमित जनशक्तिका लागि ब्यारेकभित्रै बनायो आइसोलेसन
फाइल फोटो।

काठमाडौं : कोभिड-१९ को संक्रमण बढेर आइसोलेसनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ। नेपाली सेनाका २८४ जनामा कोभिड-१९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

कोभिड-१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन्। धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड-१९ संक्रमण देखिएको थियो। पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए।

उनले भने, ‘मुलुकमा कोभिड-१९ को संक्रमण बढ्न गई आइसोलेसनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको सुरुवात भइसकेको छ।’

केही सैनिक जनशक्ति कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्नेलगायत कार्यमा अग्रपङ्क्तिमा खटिँदै आएका छन्। सेनाले खास गरी दैनिक गस्ती, क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ एरिया सुरक्षा, उडान समन्वय, हेल्थ डेस्क, राहत वितरण, शव व्यवस्थापन र ठूलो संख्यामा मेडिकल जनशक्ति खटाएको छ।

कोभिड-१९ को संक्रमणबाट मृत्यु भएकामध्ये सेनाको व्यवस्थापनमा १२६ जनाको अन्त्येष्टि भइसकेको छ। कोभिड-१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेनाका २० हजार १९५ जनशक्ति खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त जनशक्तिमध्ये करिब आठ हजार अहिले अग्रमोर्चामा रहेर काम गरिरहेका छन्।

मुलुकमा कोभिड-१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृत्यु भएको छ। नेपालमा ३० हजार बढी संक्रमितमध्ये करिब १८ हजार जना निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय संक्रमित रहेको र तिनमा केही घरमै आइसोलेसनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell