PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

रानीपोखरी होटलबाट कोभिड-१९ संक्रमित २० जना डिस्चार्ज, थप एक होटलमा ४० वेडको आइसोलेसन



राधेश्याम पटेल

रानीपोखरी होटलबाट कोभिड-१९ संक्रमित २० जना डिस्चार्ज, थप एक होटलमा ४० वेडको आइसोलेसन

वीरगंज : वीरगंजको होटल आइसोलेसनबाट कोभिड-१९ संक्रमितहरू निको भएर घर फर्कने क्रम शुरु भएको छ। शुक्रवार साँझ वीरगंज बसपार्कस्थित रानीपोखरी होटलमा बनाइएको ५० शय्या क्षमताको आइसोलेसनबाट २० संक्रमित डिस्चार्ज भएका हुन्।

५२ संक्रमितमध्ये २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको त्यहाँका व्यवस्थापक दिलिपराज कार्कीले बताए।

डिस्चार्ज हुनेमा वीरगंज २५ श्रीसियाका ३६ वर्षदेखि ६० वर्षका १० जना रहेका छन् भने वीरगंज १६ नगवाका २५ र २६ वर्षीय युवक, वीरगंज ३ का २४ वर्षीया महिला र ५५ वर्षीय पुरुष पनि रहेका छन्। त्यसैगरी वीरगंज २ छपकैया वडा नम्बर २७ रामगढवाका, वडा नं ११ श्रीपुरका २३ वर्षीय युवक पनि छन्।

रानीपोखरी होटलमा चिकित्सकीय सेवा दिइरहेका डाक्टर अक्षय द्विवेदीका अनुसार सबै संक्रमितको स्वास्थ्यस्थिति सामान्य छ। त्यहाँ चिकित्सकीय सेवा तथा खाना, बस्न सबै नि:शुल्क हो।

पर्सामा अझै १३ जना संक्रमितहरू सामुदायिक आइसोलेसन अर्थात् विभिन्न होटल, धर्मशाला एवं स्कूलको क्वारेन्टिनमा छन्। यसैबीच वीरगंज २५ श्रीसिया ड्राइपोर्ट चोकमा बन्द रहेको वाटिका इन्टरनेसनल होटललाई सामुदायिक आइसोलेसन वार्ड बनाइएको छ।

समाजिक संस्था सानोपाइला वीरगंज, होटलकी सञ्चालिका एवं प्रदेश सासद डाक्टर अन्जु रन्जन तथा वीरगंजका उद्योगी अनिल रुगंटाको पहलमा शनिवारदेखि ४० वेडको आईसोलेशन वार्ड स्थापना गरिएको उद्योगी अनिल रुगंटाले जानकारी गराए। घरमा अलपत्र परेका संक्रमितहरु होटलमा उचित वास, खाना तथा स्वास्थ्य सेवा पाउने छन्।

होटलमा एक जना डाक्टरको नेतृत्वमा चार जना स्वास्थ्यकर्मी राखिने छन्। गम्भीर लक्षण तथा स्वास्थ्य अवस्था बिग्रिएमा कोभिड अस्पतालमा पठाउने तयारी रहेको सानो पाइलाका कार्यकारी निर्देशक कन्चन झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell