PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

लकडाउनपछि विराटनगर सुनसान, प्रहरी सक्रियता बढ्दो

लकडाउनपछि विराटनगर सुनसान, प्रहरी सक्रियता बढ्दो

अनन्तराज न्यौपाने/पहिलोपोस्ट


विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका र अन्य तीन स्थानीय निकायमा निषेधाज्ञा जारी गरेपछि सम्बन्धित स्थान सुनसान देखिएका छन्।

शनिबार बिहान ५ बजेदेखि नै प्रहरीको परिचालन र कडाइसँगै निषेधाज्ञा गरिएका स्थानहरू सुनसान भएका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार अपराह्न सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिकाका वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म, र रङ्गेली नगरपालिकाका ४ देखि ७ सम्मका वडामा ५ दिनको निषेधाज्ञा जारी गरेको हो।

विराटनगरको तीन टोलियाका पारस कोइरालाका अनुसार शनिबार बिहान प्रहरीले चोक–चोकका किराना पसल र तरकारी पसल पनि बन्द गराएको थियो। किराना पसलेलाई पसल बन्द गरेर दूध बाहिर ल्याएर बेच्न प्रहरीले आदेश गरेको थियो।

विराटनगरको तीन पैनी चोकमा खटिएका ट्राफिक हवल्दारले अत्यावश्यक सेवाका सवारीलाई मात्र छाड्ने आदेश भएको बताए।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लावासी र महानगरवासीले निषेधाज्ञालाई सहयोग गरेको प्रतिक्रिया दिए।

‘अहिलेसम्म हामीले कसैलाई अप्रिय कारबाही गर्नुपरेको छैन’, एसपी खड्काले भने, ‘खाद्य, दूध, औषधि, सञ्चार र आइसिपीबाट आएका सवारीलाई हामीले सुचारु गरेका छौँ।’

निषेधाज्ञाका अवधिमा बिहान ६ देखि ९ बजेसम्म तरकारी र फलफूलका पसल खोल्न दिइने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell