काठमाडौं : पछिल्लो समय कोभिड-१९ संक्रमण पुष्टि हुनेमा लक्षणसहितका संक्रमितहरु बढी देखिन थालेका छन्।
हाल प्रदेश ५ मा रहेका एक्टिभ केसमध्ये करिब २० प्रतिशत लक्षणसहितका संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश ५ को तथ्यांकमा उल्लेख छ।
शुक्रवार साँझको तथ्यांकअनुसार प्रदेशमा एक हजार ५६ जना संक्रमित उपचारका क्रममा रहेका छन्। हालसम्म प्रदेशमा पाँच हजार ४३९ जनामा संक्रमण पुष्टि भएको छ।
कुल एक्टिभ केसमध्ये १९.०३ प्रतिशत लक्षणसहितका संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। एक हजार ५६ एक्टिभ केसमध्ये २०१ जना लक्षणसहितका संक्रमित रहेका छन्।
संक्रमण पुष्टि भएकामध्ये हाल सबैभन्दा बढी बाँकेमा सक्रिय संक्रमित रहेका छन्। बाँकेमा हाल ४०१ संक्रमित उपचारकै क्रममा रहेका छन्। उपचाररत संक्रमितमध्ये ४८ जना लक्षणसहितका छन्। जसमध्ये ३२ जना आइसोलेसन अस्पतालमा र १६ जना आइसोलेसन सेन्टरमा रहेका छन्।
हाल कपिलवस्तुमा सबैभन्दा बढी लक्षणसहितका संक्रमित छन्। कुल एक्टिभ केसमध्ये ७४.८६ प्रतिशत संक्रमित लक्षणसहितका छन्। १७९ एक्टिभ केस रहेको कपिलवस्तुमा १३४ जना लक्षणसहितका संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये २ जना आइसोलेसन अस्पतालमा र बाँकी आइसोलेसन सेन्टरमा रहेका छन्। त्यस्तै रुपन्देहीमा हाल २६६ एक्टिभ केस छन्। जसमध्ये १२ जना संक्रमितमा लक्षण देखिएको छ। प्युठानका ७२ एक्टिभ केसमध्ये ५ जनामा लक्षण देखिएको छ। नवलपरासी पश्चिमका १५ एक्टिभ केसमध्ये २ जनामा लक्षण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
प्रदेशमा कुल संक्रमितमध्ये चार हजार ३६२ जना डिस्चार्ज भइसकेका छन् भने २१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितमध्ये ९२ जना आइसोलेसन अस्पतालमा सामान्य अवस्थामा र १६ जटिल अवस्थामा आइसीयुमा राखेर उपचार भइरहेको छ। त्यस्तै ८७४ जना आइसोलेसन सेन्टरमा रहेका छन्।
कुन जिल्लामा कति?
संक्रमणको पुष्टि भएको प्रदेशका आधारमा दोस्रो स्थानमा छ प्रदेश ५। यहाँ संक्रमण पुष्टि भएकामध्ये २१ जनाको मृत्यु भइसकेको छ। प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा कोभिड-१९ का संक्रमितको मृत्यु भइसकेको छ।
प्रदेशमा सबैभन्दा कम संक्रमण पुष्टि भएको जिल्ला हो रुकुम पूर्व। यहाँ २४ जनामा संक्रमण पुष्टि भएकोमा २२ जना निको भइसकेका छन् भने २ जना मात्र उपचारका क्रममा छन्। यहाँ कसैको पनि मृत्यु भएको छैन। अन्य सबै जिल्लामा संक्रमितको मृत्यु भइसकेको छ।
प्रदेशमा सबै भन्दा बढी कपिलवस्तुमा एक हजार १९ जनामा संक्रमण पुष्टि भएको छ। १७९ एक्टिभ केस रहेको कपिलवस्तुका २ जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी बाँकेमा संक्रमितको मृत्यु भएको छ। ८४३ कुल संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ भने ४०१ जना उपचारकै क्रममा छन्।
अर्घाखाँची र गुल्मीमा ३/३ जनाको मृत्यु भएको छ। त्यहाँ ४/४ एक्टिभ केस छन्। गुल्मीमा ३६६ र अर्घाखाँचीमा ३२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
रुपन्देही र दाङमा २/२ जनाको मृत्यु भएको छ। त्यस्तै प्युठान, बर्दिया, नवलपरासी पश्चिम र, रोल्पामा १/१ जनाको मृत्यु भएको छ।