PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१३ औं सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता, अघि बढ्यो अनुसन्धान



मुकुन्द घिमिरे

१३ औं सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता, अघि बढ्यो अनुसन्धान

काठमाडौं : तेह्रौं दक्षिण एसियाली खेलकुदका क्रममा ब्याडमिन्टनतर्फ खेल सामाग्रीहरुमा अनियमितता भएको भन्ने आरोप लागिरहँदा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गठन गरेको उपसमितिले अनुसन्धान अघि बढाएको छ।

ब्याडमिन्टनको सामाग्रीमा अनियमितता भएको र सातदोबाटोस्थित खेलपरिसरमा जथाभावी रुख कटान गरिएको विषयमा छानविन गर्न राखेपले उपसमिति गठन गरेको थियो। साउन ३२ गते गठन भएको उक्त समितिले शनिवार जुम बैठक गर्दै परिषदबाट प्राप्त कार्यादेश बमोजिम बसेको उपसमितिको बैठक बाट छानबिन कार्यको टिओर निर्माण, छानबिन कार्यलाई विभिन्न चरणहरुमा बाँडेर अगाडि बढ्ने, सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।

राखेपले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानबिन उपसमितिको आजको बैठकले छानविन सम्बन्धित गुनासो, सुझाव, निवेदनलगायत प्रमाण कागजात पेश गर्न सात दिन (यही भदौ १२ गतेसम्म) को समय प्रदान गर्ने निर्णयसमेत गरेको छ।

यसअघि सागमा सहभागी भएका ब्याडमिन्टनकै केही खेलाडीले खेल सामाग्री अझैसम्म नपाएको भन्दै उजुरी दिएका थिए भने संघकै पदाधिकारीले समेत अनियमितता भएको सार्वजनिक रुपमा आरोप लगाएका थिए।

‘सागमा खेल्ने जतिले उजुरी दिएको हो। सागमा पाउनुपर्ने सामान नपाएकाले। राम्रो सामान चाहिँ दिएको रहेनछ। बिल चाहीँ महँगमहँगो। ज्याकेट झोलाहरु पनि एकदमै कमसल। जुत्ता त दिँदै दिएनन्,’ सागमा सहभागी ब्याडमिन्टका एक खेलाडीले भने, ‘जुत्ताको बिल चाँहि १० हजार। क्यारिङ ब्यागहरु पनि त्यस्तै खालको। १२/१५ सय पर्ने खालको मूल्य चाहीँ कहाँ हो कहाँ।’

साग खेल्ने सबै खेलाडीले उजुरी दिएको ती खेलाडीले जानकारी दिए।

‘साइन चाँहि काठमाडौंमा बस्नेले गरेको हौं। भ्यालीबाहिर हुनेको पनि सहमति लिएर उजुरी गरेका हौं,’ ती खेलाडीले पहिलोपोस्टसँग भने।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० मा अनियमितताबारे छानविन गर्न राखेप सदस्य सचिव रमेशकुमार सिलवालललाई निर्देशन दिएका थिए। लगत्तै सिलवालले भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गराएका थिए।

भट्टराईको संयोजकत्वमा रहेको उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण बिभागका प्रमुख अर्जनवहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानुन शाखा प्रमुख नारायण अर्याल र लेख अधिकृत पासाङफिजिङ शेर्पा रहेका छन्। उपसमितिले १३औं साग सन्दर्भमा ब्याडमिन्टन खेलका खेलाडीहरुले जुत्ता नपाएको, खेल पोशाक र खेल सामाग्री गुणस्तर नभएको भनी राखेपका सदस्य सुभाष श्रेष्ठले समेतले लगाएको आरोपको आधारमा युवा तथा खेलकुद मन्त्रालयको साउन २९ को पत्र बमोजिम के कसो भएको हो सो बिषयमा छानबिन गर्न निर्देशिन भएकोमा सम्पूर्ण अधिकारसहित सत्य तथ्य पत्ता लगाई २१ दिनभित्र छानबिन गरी रिपोर्ट बुझाउन पत्रमा उल्लेख छ।

समितिका संयोजक भट्टराईले समितिको बैठकले कार्यविधि बनाउने, छानविनलाई कसरी अघि बढाउने, कोको मान्छेलाई भेट्ने, टिमको साथीहरुको जिम्मेवारी कसरी मिलाउनेलगायतमा छलफल गरेको बताए। त्यस्तै अहिले कोभिड १९ का कारण निषेधाज्ञा चलिरहेकाले घरै बसेर गर्न सकिने आवश्यक अध्ययनहरुमा समिति जुट्ने उनले बताए।

‘अहिले निषेधाज्ञाको बेला भएकाले हामीले त्यससँग सम्बन्धित सरोकारवालाहरुसँग निवेदन, सुझाव, केही प्रमाणहरु, कुनै सामाग्रीमा भोगेका अफ्ठ्याराहरु केके छन् त्यो चाहीँ हामीहरुलाई लेखेर पठाइदिनुस भनेका छौं,’ संयोजक भट्टराईले भने, ‘बीचमा घर बसेर गर्ने भनेको चाहीँ कहाँकहाँ कुरा उठ्यो?  उहाँहरुसँग केके डकुमेन्डहरु छ भन्नेबारेमा अध्ययन गर्ने हो। त्यसपछि बल्ल अफिस खुलेपछि बिल भरपाइ हेर्ने, सम्बन्धित निकाय या व्यक्तिहरुलाई बयानका लागि बोलाउने या फिल्ड भिजिट गर्नुपर्‍यो भने हामी गर्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell